सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा २५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। उपमहानगर प्रमुख, वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका २५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय जनमोर्चाबाट मेयरमा उम्मेदवारी दिएकी अन्जना श्रेष्ठ मास्केले पनि उम्मेदवारी फिर्ता लिएकी छिन्। उनले उम्मेदवारी फिर्ता गरेसंगै अब ९ जनाबीच मेयरका लागि प्रतिस्पर्धा हुने भएको छ।
धनगढी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर वड, नेकपा (एमाले) का रणबहादुर चन्द, जनता समाजवादी पार्टीका कवीन्द्र ऐर, नागरिक उन्मुक्ति पार्टीका नीमकुमार चौधरी, लोकतान्त्रिक समाजवादीका वसन्तबहादुर विश्वकर्मा र सचेत पार्टी नेपालका भारती थापा उम्मेदवार छन्। यस्तै स्वतन्त्रबाट गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट मेयर पदका उम्मेदवार छन्।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुका लागि शुक्रबार ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाउने समय थियो। दाबी, विरोध, उजुरीमाथि छानबिन गरी आयोगले हिजो उम्मेदवारको नामावली प्रकाशन गरेको थियो। स्थानीय निर्वाचनका लागि ११ र १२ गते मनोनयन दर्ता भएको थियो। निर्वाचन आयोगले भोलि उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्दैछ।
वडा नम्बर १४ मा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार कृष्णराज गिरी, वडा सदस्यका उम्मेदवार प्रेम पुलामी र मानकुमारी बस्नेत तथा एकीकृत समाजवादीका भरत घर्ती र रिता विश्वकर्माले पनि उम्मेदवारी फिर्ता लिएका छन्।