नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार नृपबहादुर वडले अबको पाँच वर्षमा धनगढीलाई महानगरपालिका बनाउने आफनो संकल्प व्यक्त गरेका छन । सोमबार धनगढीमा सत्ता गठबन्धनको संयूक्त प्रतिवद्धतापत्र सार्वजनिक गर्दै नगर प्रमुख वडले भौतिक संरचना निर्माणको जगमा रही धनगढीलाई महानगरपालिका बनाउन पुरा गर्ने संकल्प व्यक्त गरेका हुन ।
‘राज्य संरचनापछि पहिलो पटक निर्वाचित भएर आएको पाँच वर्षमा समृद्ध, सुन्दर र व्यवस्थित नमुना शहरका रुपमा विकास गर्न आवश्यक सबै भौतिक संरचनाहरु तयार भएका छन’ उनले भने ‘पाँच वर्षे कार्यकालको हामी आफैंले समिक्षा गर्दा ढुक्कसंग भन्न सक्छौ । हामीले धनगढी उपमहानगरपालिकालाई समृद्ध, सुन्दर र व्यवस्थित नमुना शहरका रुपमा विकास गर्न आवश्यक सबै भौतिक संरचनाहरु तयार गरेका छौं । भौतिक संरचना निर्माणको यही जगमा अब हामी धनगढीलाई महानगरपालिका बनाउने हाम्रो संकल्प पुरा गर्छौ भन्ने पूर्ण विश्वास छ ।’
उनले विकासका प्रतिफलहरु प्राप्त हुन निश्चित रुपमा केही समय लाग्ने बताए । ‘हामीले हाम्रो पाँच वर्षे कार्यकालमा गरेका कामहरुले धनगढी उपमहानगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक पक्षमा भइरहेका सकारात्मक उपलब्धीहरु केही आमजनताले अनुभव गरिसक्नु भएको छ’ उनले भने –‘चुनावका बीच अहिले हामी आफ्नो पाँच वर्षे कार्यकालको आफैंले समिक्षा गरिरहेका छौं । यो पाँच वर्षमा विकास निर्माण, सेवा प्रवाहदेखि आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा के कस्तो जग कोर्न सकियो ? के कस्तो परिवर्तन आयो ? भन्ने उपमहानगरपालिकाका सबै आदरणीय नगरबासीले मनन् गरेका छन ।’
उनले पाँच वर्षे कार्यकाल निकै चुनौतिपूर्ण साथ वितेको बताए । ‘शुरुको एक वर्ष हामीलाई कर्मचारी र स्रोत व्यवस्थापन, नीति तथा ऐन कानुन निर्माण र व्यवस्थित नगरको दीगो खाका निर्माणको चुनौति रहयो’ उनले भने –‘बीचका दुई वर्ष कोरोना महामारीले सिर्जना गरेका समस्याहरुको व्यवस्थापनमा विते । पहिलेदेखि नै अव्यवस्थित ढंगले विकास र विस्तार भइरहेको धनगढी उपमहानगरको व्यवस्थित विकासको जग बसाल्ने चुनौति रह्यो । तर, हामीले यी सबै तमाम चुनौति र कठिनाईहरुका बीच पनि आमनगरबासीको चाहना र आवश्यकताका आधारमा विकास निर्माण तथा सेवा प्रवाहलाई अघि बढायौ ।’
उनले आफनो कार्यकालमा धनगढीलाई मुलुकका ७५३ पालिकामध्ये सबैभन्दा उत्कृष्ट पालिका बनेको बताए । नेकपा माओवादी केन्द्रबाट उपप्रमुखकी उम्मेदवार रहेकी शान्ती अधिकारीले घोषणापत्रमा उल्लेख गरेका बुँदागत रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रम नेपाली काँग्रेस नगर अध्यक्ष यज्ञराज उपाध्यायको अध्यक्षतामा भएको थियो । प्रतिवद्धतापत्र निर्माण समितिका संयोजक एवंम् नेपाली काँग्रेस कैलाली सचिव नृप सुनार प्रतिवद्धतापत्र पढेर सुनाएका थिए । कार्यक्रमको सञ्चालन नगर सचिव दीपक खत्रीले गरेका थिए ।