कञ्चनपुरको महेन्द्रनगरस्थित होटल ‘नाइन इलेभन’मा बुधबार बिहान २१ वर्षीय मुकुल पाण्डेय मृत भेटिएपछि प्रहरीले २० जनालाई पक्राँउ गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ पाण्डेय होटलको कोठाभित्र मृत भेटिएका थिए।
उक्त घटनाको लगत्तै अनुसन्धान थालेको कञ्चनपुर पहरीले मुकुल मृत फेला परेको होटलका सन्चालक कोमल सिंहसहित होटलका कर्मचारी र मृतकका साथी २० गरेर जनालाई पक्राउ गरेर सोधपुछ थालिएको बताएको छ। यसअघि नै मुकुलका साथी आशिष चन्दलाई पनि प्रहरी समातेको थियो।
यस्तै मृतक मुकुल बसेको ४०३ नम्बरको कोठामा केही सिरिन्ज र बेडमा कण्डम भेटिएको प्रहरीले बताएको छ। यस्तै मृतक मुकुल पढाइका लागि विदेश जाने तयारीमा रहेको पनि खुलेको छ। यही वैशाख २२ गते जापान उड्ने तयारीमा रहेका उनी त्यसअघि साथीहरुलाई पार्टी दिन होटलमा गएको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए।
उनका अनुसार मृतक मुकुल र उनका साथी आशिष चन्द त्यही होटलमा बसेका थिए। चन्द राति मुकुलसँगै कोठामा सुतेको बताइएको छ। तर, अहिलेसम्म घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ। मुकुलको शव पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ।