बझाङमा चुनानी रौनक, थरीथरी योजना लिएर खेतमै पुगी मत माग्छन् उम्मेदवारहरू
2022/05/05, 4:42
 
ss

स्थानीय चुनावको मिति नजिकिएसँगै बझाङमा राजनीतिक दलहरूले घरदैलो अभियानलाई तीव्रता दिन थालेका छन । बझाङमा प्रमुख दुई राजनीतिक शक्ति नेकपा एमाले एक्लै र सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त रूपमा जिल्लाका ग्रामीण बस्तीहरूमा पुगेर विकास गर्ने पूरानै आशा देखाई मतदाताहरूसँग मत मागिरहेका छन् ।

यति बेला उनीहरू आफ्ना दलका उम्मेदवारहरूलाई जिताउन विभिन्न आश्वासन देखाएर मतदाताहरूको घरदैलोमा पुगिरहेका छन् ।उम्मेदवारहरू आफ्ना कार्यकर्तासहित घरघर तथा खेतबारीमै गएर मत मागिरहेका छन् । बझाङमा किसानहरू अहिले गहुँ भित्र्याउने र धानको बिउ छर्नमा व्यस्त छन् । मौसममा आएको परिवर्तनसँगै साँझपख हावाहुरीसँगै पानी पर्ने भएकाले जिल्लाका किसानहरू बिहानैदेखि गहुँ काट्ने र चुट्ने काममा व्यस्त छन् । गहुँ भित्र्याउने चटारोले मतदाता घरमा नभेटिएपछि उम्मेदवारहरू खेतमै गएर गहुँ काट्न चुट्न र धानको बिउ छर्न सहयोग गर्दै मत माग्न थालेका छन् ।

जिल्लाका सबै स्थानीय तहमा विद्युत्‌को राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर बझाङलाई उज्यालो बनाउने, जिल्लाभर सडक सञ्जाल पुर्‍याउने र निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने, व्यावसायिक र रोजगारमूलक शिक्षा, जिल्लामा आर्थिक उपार्जन हुनेगरी विकास निर्माणलाई अघि बढाउने, बझाङमा सुविधासम्पन्न अस्पताल नभएकाले गुणस्तरीय स्वास्थ्य सेवा दिने अत्याधुनिक अस्पताल खोल्नेलगायतका एजेन्डा बोकेर मत मागिरहेका छन् ।

आफूहरू खेतीपातीमै व्यस्त भएको र राजनीतिक दलका उम्मेदवारहरू खेतमै आएर मत मागे बुङ्गल नगरपालिका– २ का कलक धामीले बताए । उनले भने, ‘गाउँघरमा चुनावी रौनक निकै बढेको छ । हामी गहुँ भित्र्याउनमै व्यस्त छौँ । यसपालि तपाईंको भोट हाम्रो पार्टीलाई है भनेर उम्मेदवारहरूसँगै उनीहरूका कार्यकर्ताहरू खेतीपाती बटुल्ने काममा सहयोग गर्न थालेका छन् ।’ उम्मेदवारहरू विकास निर्माणका विभिन्न आश्वासन दिएर मत मागिरहेकोे धामीको भनाइ छ ।

मतदाता भन्छन्– यसपालि पार्टी होइन, व्यक्ति हेरिन्छ

निर्वाचनको मिति नजिकिएसँगै बझाङका बजारदेखि ग्रामीण भेगका चिया पसल, खेतबारी र चोकचोकमा कसलाई भोट हाल्ने भन्ने बहस सुरु हुन थालेको छ । चुनावी प्रचारप्रसारका लागि कार्यकर्ता तथा शुभचिन्तकसहित गाउँ पसेसँगै मतदाताहरूबीच पनि विकासप्रेमी नेतालाई खोज्न चुनावी बहस सुरु हुँदै गएको छ ।

अघिल्ला निर्वाचनहरूमा कुन दल रोज्ने भन्ने विषयमा मतदाताहरूबीच बहस हुन्थ्यो भने यसपालि भने विकासप्रेमी नेतालाई भोट हाल्ने भन्दै बहस हुन थालेको छ । अहिले मतदाताहरूले हाम्रालाई नभई राम्रालाई मत हाल्नुपर्ने भन्दै बहस गर्न थालेका छन् । यसअघि निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको काम व्यवहारको समीक्षा पनि गर्न थालेका छन् । चुनावका लागि गाउँगाउँ धाउने उम्मेदवारहरू र तिनका कार्यकर्तालाई यसअघि दिएका वाचाहरू पूरा गरेर मात्र मत माग्न मतदाताहरू आग्रह गरिरहेका छन् । 

गठबन्धनका उम्मेदवारहरूका लागि मत माग्दै  कार्यकर्ता

यसअघि जिताएका उम्मेदवारहरूले गाउँको विकास गर्नेभन्दा पनि आफ्नै कार्यकर्तालाई काखी च्याप्ने गरेका कारण जिल्लाले विकासमा फड्को मार्न नसकेको मतदाताहरूको बुझाइ छ । यसपालि भने त्यस्तो गल्ति नगर्ने र जिल्लाको विकासका लागि लागिरहने विकासप्रेमी नेतृत्व छान्नुपर्ने केदारस्युँ गाउँपालिका– ७, भामचौरका लोकेन्द्र धामीले बताए ।

धामीले भने, ‘पहिले मतदान गर्दा हामी पुर्खाहरूको पालादेखिकै यही पार्टीमा भोट हालेर आएका हौँ । अब पनि यसैमा भोट हाल्छौँ भनेर मतदात गरिन्थ्यो । तर, अब त्यो समय छैन । हाम्रालाई नभई राम्रालाई विकासप्रेमी र सुशासन कायम गर्न सक्ने नेतालाई मतदान गरिन्छ ।’

मतदाताहरूले नेताहरूबाट आफूलाई मत नदिएकै कारण विभिन्न खालका दुर्व्यवहार भोग्ने गरेकाले जुन दलको भए पनि जनतालाई सम्मान र संरक्षण मत दिने उनको भनाइ छ ।