धनगढीमा गठबन्धनको आग्रह–‘साझा उम्मेदवारलाई जिताऔं’
2022/05/05, 4:50
 
ss

२०७९ साल बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा धनगढीका गठबन्धनका नेताहरुले साझा उम्मेदवारहरुलाई सबै मिलेर जिताउन आग्रह गरेको छ । राष्ट्रिय राजनीति र स्थानीय आवश्यकताका साथै समयको मागका कारण धनगढी उपमहानगरपालिकामा भएको पाँच दलीय गठबन्धनका उम्मेदवारहरुलाई जिताउन गठबन्धनमा रहेका पार्टीहरुले आग्रह गरेका हुन् । 

नेपाली काग्रेंसको तर्फबाट नगर सभापति यज्ञराज उपाध्याय, नेकपा माओवादी केन्द्रको तर्फबाट नगर ईन्चार्ज निर्मल शाह, नेकपा समाजवादीको तर्फबाट नगर अध्यक्ष मदनराज रेग्मी र  राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रदेश सदस्य खडक रानाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आग्रह गरेको हो । गठबन्धनले आवद्ध सबै राजनीतिक दलका स्थानीय वडा तहको नेतृत्व, वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरु वडा तहमा आआफ्नो दलका उम्मेदवारका पक्षमा मत माग्ने र गठबन्धनका साझा मेयर पदका उम्मेदवारको निर्वाचन चिन्ह रुखमा र उपप्रमुखका उम्मेदवारको निर्वाचन चिन्ह गोलाकारभित्र हँसिया, हतौडामा मतदान गर्ने वातावरण सुनिश्चित गर्न सबैमा अनुरोध गरेको छ । 

संयुक्त रुपमा जारी विज्ञप्तीमा भनिएको छ– ‘धनगढी उपमहानगरपालिका प्रमुखमा नेपाली काँग्रेसका नृपबहादुर वड र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका शन्ति अधिकारीलाई गठबन्धनको साझा उम्मेदवारका रुपमा प्रस्तुत गर्दै वडा स्तरमा गठबन्धनका घटक दलहरुबीच मित्रवत प्रतिस्पर्धा गरिरहेका छौं ।’ 

आज गठबन्धन दलहरुले विज्ञप्ती जारी गर्दै निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरुलाई अत्यधिक बहुमतका साथ विजयी गराउन सबै पार्टीका जिल्ला, क्षेत्रीय, पालिका र वडा स्तरका संगठनहरु तथा सबै पार्टीका भातृ तथा सुभेच्छुक संघसंस्थाहरु, क्रियाशील÷संगठित सदस्यहरु, सबै तहका निर्वाचन परिचालन कमिटीहरुलाई हार्दिक अनुरोध गरेको छ ।

‘हामी गठबन्धन दलका नेतृत्वपंक्ति यो निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरुलाई अत्यधिक बहुमतका साथ विजयी गराउन सबै पार्टीका जिल्ला, क्षेत्रीय, पालिका र वडा स्तरका संगठनहरु तथा सबै पार्टीका भातृ तथा सुभेच्छुक संघसंस्थाहरु, क्रियाशील÷संगठित सदस्यहरु, सबै तहका निर्वाचन परिचालन कमिटीहरुलाई हार्दिक अनुरोध गर्दै संयुक्त गठबन्धनका साझा मेयर तथा उपपमेयर पदका उम्मेदवारहरुलाई बहुमतका साथ विजयी गराउन हुन सम्पूर्ण आदरणीय नगरबासीहरुमा सादर अनुरोध गर्दछौं । ’ जारी विज्ञप्तीमा भनिएको छ । 

1