शिक्षकहरुको प्रत्यक्ष राजनीतिले विद्यार्थीहरुको पढाई प्रभावित भएको जनगुनासो विगत देखिको नै हो। तर अब शिक्षकहरु दलको चुनावी सभा र प्रचारप्रसारमा सहभागि हुन थालेका छन्। बुधबार बैतडीको दशरथचन्द नगरपालिका– ७ सुर्कालमा आयोजना भएको कांग्रेसको चुनावी सभामा शिक्षकहरुको उपस्थिति रहेको थियो।
केदारेस्वर माद्यमिक विद्यालयका शिक्षक माहादेव बडु, केदारशीला माद्यमिक विद्यालयका शिक्षक बल्देब बडु र कैलपालेश्वर माद्यमिक विद्यालयका शिक्षक देवदत्त बडु लगायतका स्थानीय शिक्षकहरु कांगे्रसको चुनावी सभा र प्रचारप्रसारमा देखिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
माहादेव बडु निमावी द्वतिय स्थायी हुन भने बल्देब बडु करारका शिक्षक हुन्। बल्देब बडुकी श्रीमती नेपाली कांग्रेसबाट वडा सदस्यका उम्मेदवार छन्। महादेव बडुका दाई पनि सोही पार्टीबाट वडा सदस्यका उम्मेदवार बनेका छन्। त्यसैले अहिले उनीहरुलाई विद्यार्थीको पढाईभन्दा राजनीति प्राथमिकतामा छन्।
विद्यार्थीलाई पढाउनुपर्ने शिक्षकहरु प्रत्यक्ष राजनीति गर्न थालेकाले विद्यार्थीको भविश्य के हुने भन्ने चिन्ता बढ्न थालेको स्थानीय संकर बडुले बताए। उनले भने, ‘उहाँहरु शिक्षक हुन या पार्टीका कार्यकर्ता छुट्याउनै मुस्किल छ।’
शिक्षकहरुले खुलेआम आचासंहिता उलंघन गरेर दलको चुनावी प्रचार गरिरहेको भए पनि आचासंहिताको अनुगमन र कारबाही गर्ने निकाय भने मौन छ।