दार्चुलामा बसाइँ सरेका वृद्धवृद्धा र सुत्केरी मतदान गर्नबाट वञ्चित हुने
2022/05/06, 7:35
 
ss

व्यास गाउँपालिका–१ का शङ्करसिंह ऐतवाल ९४ वर्षको भए। विगतमा गाउँ पञ्चायतको सदस्यसमेत रहेका उनी तिङ्करको डोकाङ खम्पा काण्डका जिउँदा सहिद पनि हुन्। नेपाल प्रहरीको जागिर छोडेर आएका ऐतवाल खम्पाकाण्डमा एक्लै मैदानमा खटिनुभएको थियो। विसं २०७४ को निर्वाचनसम्म निरन्तर मतदानमा सहभागी भएका उनी यो पटक भने मतदान गर्नबाट वञ्चित हुँदैछन्।

महिलो पटक आफूहरुले निर्वाचनमा मतदान गर्नबाट वञ्चित हुनुपरेकामा उनको गुनासो छ। मतदान गर्ने इच्छा हुँदाहुँदै पनि मतदान केन्द्र पायक पर्ने ठाउँमा नहुँदा निर्वाचनबाट वञ्चित हुनुपर्ने अवस्था आएको ऐतवालको भनाइ छ। भोट हाल्ने हाम्रो अधिकार हो तर बसाइँसराइका कारण हामी गाउँ जान नसक्ने भएकाले मतदान केन्द्र खलङ्गामा पनि राखिए सहज हुने थियो।

व्यासी सौका समुदायका अधिकांश भर्खरै खलङ्गाबाट छाङ्गरु तिङ्कर बसाइँ सरेको छ। बसाइँ सरेर  पुन फर्किन नसकेर खलङ्गामा रहेका व्यासी सौका समुदायका वृद्धवृद्धा र सुत्केरी महिला मतदान गर्नबाट वञ्चित हुने भएका हुन्। मतदानका लागि गाउँ नै पुग्नुपर्ने बाध्यताले उनीहरु मतदानबाट वञ्चित हुने भएका हुन्।

स्थानीय तहको यो पटकको निर्वाचनका लागि व्यास गाउँपालिका–१को  छाङ्गरु र तिङ्करका बासिन्दाका लागि  मात्रै मतदान केन्द्र कायम भएकाले पछि सदरमुकाम खलङ्गामा बसेका वृद्धवृद्धा र सुत्केरी महिला मतदानबाट वञ्चित हुने अवस्था आएको स्थानीय अमिता तिङ्करी बताएकाछन्।

“वृद्धवृद्धा र नवजात शिशु पाएका महिला गाउँ गएर मतदान गर्न सक्दैनन्। वृद्धवृद्धा चिसो ठाउँमा बस्न सक्दैनन्। बसाइँ सर्नुभन्दा अघि नै निर्वाचन भइदिए सबै वृद्धवृद्धा महिलाले मतदानमा आफ्नो मत प्रयोग गर्न सक्थे”, उनी भन्छन्, “दुवै गाउँका झण्डै १०० मतदाताले निर्वाचनमा भाग लिनसक्ने अवस्था छैन्।”महिला वृद्धवृद्धा मात्र हैन, घर हेरालु, बालबच्चा सदरमुकाम खलङ्गामा पढाउने अभिभावक पनि यो पटक मतदानका लागि गाउ नजाने भएका छन्।

हामी व्यासीका लागि सदरमुकाम खलङ्गामै एउटा मतदान केन्द्र राखिदिएको भए मतदान गर्न सक्थ्यौँ। अरुको सहारामा भए पनि गोप्य मतको सदुपयोग हुन्थ्यो तर सरकारले यो पटक हाम्राबारेमा सोचेन। म जस्तै कैयौँ वृद्धवृद्धा उच्च हिमाली क्षेत्रमा गएर मतदान गर्न सक्दैनौँ। 

स्थानीय दानसिंह तिङ्करी सरकारले आफूहरुको बसाइँ सर्ने बेला छाङ्गरु तिङ्करमा मात्रै मतदान केन्द्र राख्दा आधा मतदाताले खलङ्गामा भोट हाल्नबाट वञ्चित हुने अवस्था आएको बताउछन्। सदरमुकाम खलङ्गाको घर पनि हेर्नैपर्छ उनी भन्छन्। चार पाँच दिन लगाएर गाउँ पुगेर फर्किने अवस्था हुँदैन।

“नेपालतिर बाटो भएको भए एक दिन मतदान गरेर दोस्रो दिन फर्किन हुन्थ्यो”, तिङ्करी सुनाउछन्, “भारतीय बाटो हुँदै गाउँ जानुपर्छ। बहत्तर घण्टा सीमानाका बन्द हुन्छ। बन्दका बेला आउजाउ गर्न पाइदैन। यस्तो अवस्थामा दुवै गाउँका १०० बढी मतदाता मतदान गर्नबाट वञ्चित हुने अवस्था पुगेको छ। ”

व्यासको छाङ्गरु तिङ्कर जान भारतीय प्रशासनको अनुमति लिनुपर्छ। अहिले गाउँ जानका लागि २७५ महिला र ५२१ पुरुष गरी ७९६ जनाले अनुमति लिएको सीमा प्रशासन कार्यालयका प्रमुख मोहनसिंह धामी बताउछन्। छाङ्गरु तिङ्कर जान अनुमति लिनेमा यहाँका स्थानीय ४१६, जिल्ला बाहिरका कामको सिलसिलामा जाने ४३, सशस्त्र प्रहरी र नेपाल प्रहरीका ८० जना छन्। सरकारले छाङ्गरुका लागि कैलाशपति आधारभूत विद्यालयमा र तिङ्करका लागि मोती महिला सङ्घ आधारभूत विद्यालयमा मतदान केन्द्र तोकेको छ। निर्वाचनमा खटिने कर्मचारी र मतपेटिका तथा मतपत्र हेलिकप्टरमार्फत ढुवानी गर्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।