कुकुरलाई हिर्काएको निहुँमा समाजवादी-कांग्रेसका कार्यकर्ताबीच झडप, १४ राउन्ड हवाइ फायर,  १६ सुरक्षाकर्मीसहित २० जना घाइते
2022/05/06, 7:42
 
ss

बाजुराको बुढीनन्दा नगरपालिका-९ पाण्डुसेन दिनभर तनावग्रस्त बनेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि १४ राउन्ड हवाइ फायरसमेत गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी चर्तुभुज ओझाले बताए ।

दिउँसो नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच दोहोरो झडप भएको थियो । एकीकृत सामाजवादीका कार्यकर्ता प्रहरी चौकीमा संरक्षण लिन पुगेका थिए । एकीकृत सामाजवादीका कार्यकर्ता चौकीभित्र रहेको भन्दै कांग्रेस कार्यकर्ताले प्रहरी चौकीमा नै आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताए ।

उनका अनुसार प्रहरीले स्थिति नियन्त्रण लिनका लागि १४ राउन्ड हवाइ फायर गरेको छ । अझै स्थिति नियन्त्रणभन्दा बाहिर रहेको प्रहरीले जनाएको छ ।  नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना पाण्डुसेन प्रहरी चौकीमा तथा घटनास्थल भएको ठाउँमा पुगेको छ ।  प्रहरी प्रमुख चर्तुभुज ओझाले भने ुकांग्रेसले गाउँगाउँबाट मान्छे बोलाइरहेका छन्, स्थिति निकै तनावग्रस्त रहेको छ ।

एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको निहुँमा कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेपछि दोहोरो झडप भएको प्रहरी निरीक्षक बोगटीले बताए ।  एकीकृत समाजवादीका कार्यकर्ताहरू प्रहरी चौकीमा पुगेपछि प्रहरीले संरक्षण गरेको भन्दै कांग्रेसका कार्यकर्ताले प्रहरी चौकीसमेत तोडफोड प्रयास गरेका थिए । 

झडपमा समाजवादीका नेता पुरबहादुर रावत, खडक बोहोरा घाइते भएका छन् । १६ जना सुरक्षाकर्मी घाइते भएका छन् भने दुई जना कांग्रेस कार्यकर्ता पनि घाइते भएको प्रहरीले जनाएको छ ।  प्रहरी चौकीमै पुगेर कांग्रेस कार्यकर्ताले नाराबाजी गर्नुका साथै तोडफोड गर्न लाग्दा प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।