बाजुरामा समाजवादीका सचिवमाथि चक्कु प्रहार, काँग्रेसका २ कार्यकर्ता प्रक्राउ
2022/05/07, 2:44
 
ss

बाजुराको बुढीनन्दा नगरपालिका–९ पाण्डुसैनको अगाउँपानीमा नेकपा एकीकृत समाजवादीका सचिव पुरबहादुर रावतमाथि चक्कु प्रहार भएको छ। रावतलाई चक्कु प्रहार गर्ने काँग्रेसका २ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लगेको छ। 

प्रक्राउ पर्नेमा वडा नम्बर ७ घर भएका केशव कार्की र वडा नम्बर ९ का नरेन्द्र सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताए। शुक्रवार दिउँसो सचिव रावत र समाजवादीको तर्फबाट वडा नम्बर ९ मा वडाअध्यक्षका उम्मेदवार रहेका खड्क बोहोरामाथि चक्कु प्रहार भएको थियो।  घाइते रावत र बोहोराको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। रावतको पाखुरा र हातमा चक्कु प्रहार भएको छ, भने बोहोराको टाउको चोट लागेको छ।

काँग्रेस निकट कार्यकर्ताले पालेको कुकुरलाई नेकपा एकिकृत समाजवादीका कार्यकर्ताले हिर्काएपछि दोहोरो झडप भएको थियो। उक्त झडप नियन्त्रणमा लिन प्रहरीले १६ राउन्ड हवाइ फायर समेत गरेको थियो। झडपका बेला सामाजवादीका कार्यकर्ता प्रहरी चौकीमा संरक्षण लिन पुगेका थिए। त्यहाँ पनि काँग्रेस कार्यकर्ताले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन्। झडपमा १६ जना प्रहरीसहित समाजवादीका नेता कार्यकर्ता र दुईजना काँग्रेसका कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ।