निर्वाचनमा कर्मचारीलाई पायक पर्ने ठाउँमा खटाउन माग
2022/05/07, 2:46
 
dd

नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समिति कञ्चनपुरले आसन्न स्थानीय तहको निर्वाचनका लागि विभेदरहित ढङ्गबाट पायकपर्ने ठाउँमा कर्मचारीलाई खटनपटनको कार्य गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग माग गरेको छ । 

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि वैशाख २१ र २२ गतेको संशोधित सूचनामा उल्लेख भएअनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृत ज्येष्ठताको अवमूल्याङ्न, सङ्घीय तथा प्रादेशिक कार्यालयलाई प्राथमिकता, जानकारी विना संशोधित लिष्टमा कर्मचारीको नामावली हेरफेर र पालिकाका कर्मचारीलाई टाढाटाढाका मतदान केन्द्रमा खटाइएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निजामती कर्मचारी सङ्गठन कञ्चनपुरका अध्यक्ष मानबहादुर चन्दले बताए । 

“निर्वाचन स्वच्छ, पारदर्शी, र निष्पक्ष तरिकाले सफल पार्नु हामी सबैेको साझा दायित्व छ”, उनले भने, “ज्येष्ठता र समन्यायको सिद्धान्तलाई आत्मसात गर्दै सबै तहका कार्यालयमा कार्यरत कर्मचारीलाई पायक पर्ने ठाउँमा खटनपटन गर्नका लागि आग्रह गर्दछौँ ।” यसबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ध्यनाकर्षण पत्र बुझाइएको उनले बताए ।