बैतडीमा स्थानीय चुनावको माहोल तातिएसँगै दल तथा दलका नेताहरु प्रचारप्रसारमा खटिएका छन्। आफ्नो पार्टी तथा उम्मेदवारको पक्षमा माहोला बनाउन उनीहरु खटिएका हुन्। तर, बैतडीमा भने नेता तथा कार्यकर्ता मात्रै नभई शिक्षकहरु समेत खुलेआम चुनावी प्रचारप्रसार तथा भेलाहरुमा सहभागी भइरहेका छन्। बिहीबारमात्रै जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर-८ मा नेपाली कांग्रेसले चुनावी सभा तथा प्रचारप्रसार कार्यक्रम गरेको थियो। त्यहाँ विभिन्न विद्यालयका शिक्षकहरु समेत उपस्थित थिए।
एक स्थानीयका अनुसार सो कार्यक्रममा सुर्नया-७ स्थित केदार माध्यमिक विद्यालयका शिक्षकत्रय धनबहादुर साउद, लालबहादुर साउद र कमल साउद उपस्थित थिए। धनबहादुर साउदले त खुलेरै कांग्रेसको पक्षमा मत मागेको उनले बताए। उनले कार्यक्रममा भाषण गर्दै कांग्रेसमा असल नेताहरु मात्रै भएको बताउँदै कांग्रेसलाई भोट हाल्न भनेका थिए। धनबहादुर केदार माविका स्थायी शिक्षक हुन्।
यस्तै सोही कार्यक्रममा सुर्नया-८ स्थित राष्ट्रिय माविका शिक्षक धनबहादुर महरा पनि सहभागी भएको बताइएको छ। शिक्षकहरुको प्रत्यक्ष राजनीतिले गर्दा बैतडीमा विद्यार्थीहरुको पढाई प्रभावित भएको जनगुनासो गरिएको छ। अहिले अधिकांश शिक्षकहरु विद्यार्थीको पढाईभन्दा राजनीतिमा बढी केन्द्रित भएको पाइएको छ। विद्यार्थीलाई पढाउनुपर्ने शिक्षकहरु प्रत्यक्ष राजनीति गर्न थालेकाले विद्यार्थीको भविश्य अन्योल बनेको केदार माध्यमिक विद्यालयका एक छात्रले बताए। उनले भने, ‘उहाँहरु शिक्षक हुन या पार्टीका कार्यकर्ता छुट्याउनै मुस्किल छ। आजकल त पढाउनै छोड्नुभएको छ।’
शिक्षकहरुले खुलेआम आचासंहिता उलंघन गरेर दलको चुनावी प्रचार गरिरहेको भएपनि आचासंहिताको अनुगमन र कारबाही गर्ने निकाय भने मौन छ। यसअघि बुधबार पनि बैतडीको दशरथचन्द नगरपालिका– ७ सुर्कालमा कांग्रेसको चुनावी सभामा शिक्षकहरु सहभागी भएका थिए। तर केही कार्बाही भने गरिएको छैन।