डोटीको पूर्वीचौकी गाउँपालिकामा कांग्रेसले गर्‍यो 'क्लिन स्विप'
2022/05/16, 5:46
 
dd

डोटीको पूर्वीचौकी गाउँपालिकामा नेपाली कांग्रेसले 'क्लिन स्विप' गरेको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षलगायत सातवटै वडाका वडा अध्यक्ष तथा सदस्यमा समेत नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा भने कांग्रेसकै अन्तरघातका कारण पालिकाको नेतृत्व नेपाली कांग्रेसले गुमाएको थियो । त्यतिखेरको निर्वाचनमा सातवटा वडामध्ये नेपाली कांग्रेसले पाँचवटा वडामा जित हात पारेपनि पालिकाको अध्यक्ष र उपाध्यक्षमा हार व्यहोरेको थियो ।

यसपटकको निर्वाचनमा नेपाली कांग्रेसको तर्फका अध्यक्षका उम्मेदवार रामप्रसाद उपाध्याय र उपाध्यक्षका उम्मेदवार पशुपति खड्काले जित हात पारेका हुन् ।  अध्यक्षमा विजयी भएका उपाध्यायले ५१३३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णकुमार खड्काले २२०५ मत ल्याएका छन् । तेस्रोमा नेकपा एकिकृत समाजवादीका देवबहादुर खड्काले २३२ मत ल्याएका छन् ।

त्यसैगरी, उपाध्यक्षमा नेपाली कांग्रेसबाट पशुपति खड्काले ४७२१ मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शारखा कुमारी साउदले २४४४ मत ल्याएकी छिन् । उपाध्यक्षको तेस्रोमा आउने नेकपा माओवादीका हरीश कुँवरले २५७ मत ल्याएका छन् ।

७ वटा वडा रहेको पूर्वीचौकी गाउँपालिकाको सबै वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ को वडा अध्यक्षमा अंकबहादुर खड्का (७५३), वडा नम्बर २ को अध्यक्षमा योगेन्द्र ठकुल्ला (४१२), वडा नम्बर ३ को अध्यक्षमा खडक बहादुर धामी (७७७), वडा नम्बर ४ को अध्यक्षमा बल बहादुर खड्का (६७१) विजयी भएका छन् ।

त्यसैगरी, वडा नम्बर ५ को वडा अध्यक्षमा खडकबहादुर साउद (५६१), वडा नम्बर ६ को अध्यक्षमा पुष्पराज जोशी (५१३), र वडा नम्बर ७ को वडा अध्यक्षमा प्रेमबहादुर खड्का (६४५) विजयी भएका हुन् ।  पूर्वीचौकी गाउँपालिकाको सबै वडामा सदस्य समेत नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।

योसँगै डोटीका नौ स्थानीय तहमध्ये पाँच स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । जसमा तीन पालिकामा नेपाली कांगैसले जित हात पारेको छ भने एउटामा नेकपा एमाले र एउटामा नेकपा माओवादीले जित निकालेको छ ।   डोटीको बडीकेदार गाउँपालिका, पूर्वीचौकी गाउँपालिका, आदर्श गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ भने जोरायल गाउँपालिकामा नेकपा एमाले र बोगटान फुड्सिल गाउँपालिकामा नेकपा माओवादीले जितेको छ ।