डोटीका सबै ९ स्थानीय तहको नतिजा आयो, कांग्रेसको बर्चस्व
2022/05/18, 5:12
 
ss

डोटीमा स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक भइसकेको छ। यसपालीको स्थानीय तहको निर्वाचनमा जिल्लामा नेपाली कांग्रेसको बर्चस्व रहेको छ। जिल्लाका नौवटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले सात तहमा भारि मतले जित हात पारेको छ भने बाँकी दुई पालिकामा झिनो मतले पराजित भएको छ। 

पराजित भएको बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा समेत नेपाली कांग्रेसले जितेको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तीन पालिकामै सिमीत रहेको थियो। यसपालि पराजित भएको जोरायल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दिपक बहादुर बिष्टले ३७ मतले मात्रै हार व्यहोरेका छन् भने बोगटान फुड्सिल गाउँपालिकामा नेपाली कांग्रेसका दिलबहादुर बम १२४ मतले पछि परेका हुन्।

उक्त पालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसले जितेको छ। जिल्लाका जम्मा ६५ वडामध्ये नेपाली कांग्रेसले ३९ वडामा जित हात पार्दै गर्दा नेकपा एमाले १९ वडामा सिमित रहेको छ। नेकपा माओवादी केन्द्रले ४ वडामा जितेको छ भने सँगै मिलेर चुनाव लेडेको नेकपा एकीकृत समाजवादीले एउटा वडामा मात्रै चित्त बुझाउनु परेको छ। एउटा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको छ।

केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ मा राप्रपाले जित हात पारेको हो। त्यसैगरी, दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर २ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्ष जितेका राजेन्द्र खड्का यसपटक पार्टीबाट टिकट नपाउँदा स्वतन्त्रबाट उठेका हुन्।

नेपाली कांग्रेसले जितेका पालिका तथा प्रमुख, उपप्रमुख

दिपायल सिलगढी नगरपालिका– प्रमुखः बाजिसिं खड्का ‘बिजय’  उपप्रमुखः कल्पना साउद

शिखर नगरपालिका– प्रमुखः दीर्घबहादुर बलायर उपप्रमुखः सुनिता रावल

पूर्बीचौकी गाउँपालिका– अध्यक्षः रामप्रसाद उपाध्याय उपाध्यक्षः पशुपतिदेवी खड्का

बडीकेदार गाउँपालिका– अध्यक्षः भैरबबहादुर साउद उपाध्यक्षः डम्मरी कुमारी बिष्ट

आदर्श गाउँपालिका– अध्यक्षः गणेशबहादुर खड्का उपाध्यक्षः लक्ष्मी रोकाय

सायल गाउँपालिका– अध्यक्षः धर्मराज जोशी उपाध्यक्षः निर्मला बोहरा ओली

केआईसिंह गाउँपालिका– अध्यक्षः लोकेन्द्रबहादुर शाही उपाध्यक्षः मिनादेवी बिष्ट

नेकपा एमालेले जितेको पालिका तथा प्रमुख, उपप्रमुख 

जोरायल गाउँपालिका– ध्यक्षः दुर्गादत्त ओझा उपाध्यक्षः जमुना बोहरा

नेकपा माओवादी केन्द्रले जितेको पालिका तथा प्रमुख 

बोगटान फुड्सिल गाउँपालिका– अध्यक्षः कमल गड्सिला उपाध्यक्षः बिष्ना देउवा बम (नेपाली कांग्रेस)