धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल अग्रता बढाउँदै, गठबन्धनका उम्मेदवार वडसँगको अन्तर फराकिलो बन्दै 
 
ss

कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबारसम्म २६ हजार ४१९ मतगणना भएको छ। ५ बजे सार्वजनिक गरिएको विवरण अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १२ हजार ३०४ मत पाएका छन्।

यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार ८९२ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ७५२ मत पाएका छन्। हमाल र वडबीच ६ हजार ४१२ मतको अन्तर छ। 

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५ हजार ३०९ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ४ हजार ७ सय र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार १५९ मत पाएका छन्। 

अहिलेसम्म वडा नम्बर १, २, ३, १८ र १९ को मतगणना सम्पन्न भएको छ। अहिले ४, ५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।

1