विवेकशील छाडेर विजयी भएका हमाललाई रवीन्द्र मिश्रकाे शुभकामना- तपाईं दूरद्रष्टा हुनुहुन्छ
2022/05/22, 12:06
 
ss

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार बन्दै शानदार विजय हासिल गरेका गोपाल हमाललाई बधाई दिँदै धनगढीलाई देशकै नमुना बनाउने अभियानको सफलताका लागि शुभकामना दिएका छन् । 

हमाल विवेकशील साझा पार्टीको सुदूरपश्चिम संयोजकबाट राजीनामा दिएर धनगढीको मेयरमा स्वतन्त्र चुनाव लडेका थिए । उनी गठबन्धनका उम्मेदवार नृपबहादुर वडलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका छन् । 

हमाल विजयी भएपछि सामाजिक सञ्जालमार्फत बधाई दिँदै मिश्रले भ्रष्टाचारीलाई जेल पठाउने कार्यमा पनि सफल हुन शुभकामना दिएका छन् । मिश्रले भ्रष्टाचार विरोधी अभियानमा आफूहरूले पाँच वर्ष सँगै काम गरेको पनि स्मरण गरेका छन् ।  

झण्डै पाँच वर्ष सहयात्रा गर्‍यौँ । तपाईंकै नेतृत्वमा सुदूरपश्चिमका सबै जिल्लामा भ्रष्टाचार विरोधी यात्रा गर्‍यौँ। पार्टीहरूप्रतिको वितृष्णाले स्वतन्त्र उठ्न चाहनुभयो । शानदार जित हासिल गर्नुभयोु,  मिश्रले भनेका छन्,तपाईं दृढ, सक्षम र दूरद्रष्टा भिजनरी हुनुहुन्छ । अब तपाईंको छातीमा लेखिएजस्तै भ्रष्टाचारी जेल परुन् । बाँकी सबै ठीक हुन्छ ।

उनले नातावाद र कृपावादको भूमरीमा नपर्न पनि हमाललाई सुझाएका छन् । आर्थिकसँगसँगै नातावाद, कृपावाद सबै भ्रष्टाचार हो, जसले यो देशलाई जर्जर बनाएको छ । त्यत्तिमा ध्यान दिनुभयो भने धनगढीको रूपान्तरणका लागि बाँकी के गर्नुपर्छ, तपाईंलाई राम्रै थाहा छ । धनगढी देशकै लागि नमुना बनोस् । मेरो हृदयदेखिको बधाई तथा शुभकामनाु, मिश्रले भनेका छन् ।