अछाममा ढुङ्गा लडाएर महिलाको हत्या, फरार आरोपित पक्राउ
2022/05/28, 10:59
 
ss

अछाममा ढुङ्गा लडाएर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको पञ्चदेवल विनायक नगरपालिका(६ बान्नीतोलीका ३० वर्षीय हिराप्रसाद न्याउपाने रहेका प्रहरीले बताएको छ।

प्रहरीका अनुसार गत बुधबार ११ गते वडा नम्बर ६ कै ३९ वर्षीय रमिता न्याउपाने पञ्चदेवल विनायक(५ लयठीबाट घर आउने क्रममा आरोपित न्याउपानेले लडाएको ढुङ्गा लागेर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दै बाटोमै मृत्यु भएको भनी बिहीबार १२ गते इलाका प्रहरी कार्यालय विनायकमा खबर गरिएको बताइएको छ।

घटनापछि फरार रहेका न्याउपानेलाई शुक्रबार रामारोशन गाउँपालिका(३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताए। न्याउपाने सो वडाको कालापानीस्थित छत्र कार्कीको घरमा लुकीछिपि बसेको अवस्थामा फेला परेका उनले बताए।