आयुक्तहरुको राय बाझिएपछि बुढीगंगामा पुन: मतदानको निर्णय बहुमतबाट
2022/05/28, 6:54
 
ss

बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरु गर्ने कि पुनः मतदान गर्ने भन्ने विषयमा निर्वाचन आयोगका पदाधिकारीबीच राय बाझिएको खुलेको छ । आयोगका पाँच पदाधिकारीमध्ये प्रमुख आयुक्तसहित तीनजनाले पुनः मतदान हुनुपर्ने र दुई जनाले मतगणना हुनुपर्ने राय दिएपछि बहुमतको निर्णयले मान्यता पायो ।

बुढीगंगामा नेपाली कांग्रेस र नेकपा एमालेले एक अर्कामाथि मतदान केन्द्रमा अनधिकृत नियन्त्रण (बुथ कब्जा) गरेको आरोप लगाउदै आएका छन् । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा केही मतदान केन्द्रमा एमाले र केहीमा कांग्रेसले बुथ कब्जा गरेर अस्वभाविक रुपमा धेरै मत खसाएका थिए । बुढीगंगामा कांग्रेसले दुई र एमालेले चार वटा मतदान केन्द्र कब्जा गरेको आरोप छ । दुबै दलले अर्कामाथि आरोप लगाए पनि आफूमाथिको आरोप अस्वीकार गरेका छन् ।

यो घटनालाई लिएर एमालेले मतगणना र कांग्रेसले पुनः मतदानको माग गरेका थिए । करिव दुई साता अनिर्णित बनेको निर्वाचन आयोगले गत बिहीबार पुन मतदानको निर्णय दिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरु ईश्वरीप्रसाद पौड्याल र रामप्रसाद भण्डारीले पुनः मतदानको पक्षमा उभिए भने आयुक्तद्वय सगुनशमसेर जबरा र डा। जानकी कुमारी तुलाधरले अहिले सुरक्षित राखिएको मतपेटिकाकै मतगणना हुनुपर्ने भनी फरक राय लेखे ।