जिसस बैतडीको प्रमुखमा कांग्रेसले धामीलाई उम्मेदवार बनाउने
2022/06/01, 12:32
 
ss

नेपाली कांग्रेस बैतडीले यही जेठ २४ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि खगेन्द्रसिंह धामीलाई प्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको छ। नेपाली कांग्रेस बैतडीका उपसभापति समेत रहेका धामीलाई जिल्ला समन्वय समितिको प्रमुखका लागि उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्दले बताए। 

जिल्ला समन्वय समितिमा माओवादीसंग गठबन्धन गरेर अघि बढ्ने सहमति अनुसार उपप्रमुख पद भने माओवादीको भागमा परेको चन्दले बताए।  धामी सिगास गाउँपालिका वडा नं ४ को वडा सदस्यमा निर्वाचित भएका थिए। जिल्ला समन्वय समितिको निर्वाचनका लागि बैतडीमा भोलिदेखि निर्वाचन प्रक्रिया सुुरु हुँदैछ। भोलि मतदाताको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। जेठ २१ गते मनोनयन दर्ता र जेठ २४ गते मतदान हुनेछ।

समन्वय समितिको निर्वाचनमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने प्रावधान रहेको छ। बैतडीमा जिल्ला समन्वय समितिको निर्वाचनका लागि नेपाली कांग्रेससँग ९ जना, एमालेसँग ८ जना, माओवादी केन्द्रसँग २ जना र एक जना स्वतन्त्र मतदाता रहेका छन्। यसरी हेर्दा कांग्रेस र माओवादीको गठबन्धन हुँदा समन्वय समितिमा गठबन्धनकै प्रतिनिधि निर्वाचित हुनेछन्।