बैतडी जिससमा कांग्रेस-माओवादी गठबन्धन
2022/06/04, 1:25
 
dad

जिल्ला समन्वय समिति बैतडीको निर्वाचनमा गठबन्धन हुने भएको छ। समितिको निर्वाचनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति भएको हो। कांग्रेस र माओवादीको गठबन्धनमा स्वतन्त्रलाई पनि सहभागी गराइने भएको छ। 

सहमतिअनुसार प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रलाई दिने सहमति भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए। नौ सदस्य समितिमा कांग्रेसले प्रमुख पदसहित २ जना खुला सदस्य, २ जना महिला सदस्य र माओवादी केन्द्रले उपप्रमुख पदसहित एक जना महिला सदस्य र एकजना खुला सदस्य लिने सहमति भएको छ। यस्तै स्वतन्त्रबाट एक महिला आउने भएका छन्। कांग्रेसले प्रमुखका लागि पार्टीका जिल्ला उपसभापति समेत रहेका खगेन्द्रसिंह धामीलाई  उम्मेदवार बनाएको छ। यस्तै, उपप्रमुख माओवादी केन्द्रबाट दमन कुँवर (आदर्श) लाई उम्मेदवार बनाइएको छ। बैतडीमा कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रको गठबन्धन हुँदा समन्वय समितिमा गठबन्धनको बहुमत देखिएको छ। 

जिल्ला समन्वय समितिमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने प्रावधान रही आएको छ। यहाँका १० स्थानीय तहमा गरेर २० मतभार रहेकोमा कांग्रेसको नौ, माओवादीको दुई र स्वतन्त्रको एक गरेर गठबन्धनसँग १२ मत भएको छ भने एमालेसँग ८ मत रहेको छ। एमालेले उम्मेदवारको टुंगो लगाउन बाँकी रहेको छ। बैतडीमा यही जेठ २४ गते जिल्ला समन्वय समितिको निर्वाचन हुँदैछ। मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीका अनुसार ९ सदस्यीय जिल्ला समन्वय समिति बन्नेछ।  जसमा एक जना प्रमुख, एक जना उपप्रमुख, तीन जना महिला सदस्य, एकजना दलित वा अल्पसंख्यक सदस्य र तीन जना खुला सदस्य हुनेछन्।