कैलाली जिसस उपप्रमुख पाउने भएपछि माओवादीले तोड्यो एमालेसँगको सहमति
2022/06/05, 12:18
 
ss

कैलालीमा नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीसँग जिल्ला समन्वय समितिका लागि सम्झौता गरेको नेकपा माओवादी केन्द्रले पुनः सत्तागठबन्धनसँग पनि सम्झौता गरेको छ । जेठ ३० गते सम्पन्न हुने जिल्ला समन्वय समितिका लागि जेठ १९ गते माओवादी, एमाले र नागरिक उन्मुक्तिले लिखित सहमति गरेका थिए ।

तर, त्यसको दुई दिनपछि पुनः माओवादी केन्द्रले सत्तागठबन्धनसँग पनि समन्वय समितिका लागि लिखित सहमति गरेको हो । शनिबार कैलालीका मसुरीयामा सम्पन्न बैठकमा समन्वय समितिका लागि तीन दलीय गठबन्धन गर्ने निर्णय भएको नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले जानकारी दिए ।

उनका अनुसार नेपाली कांग्रेसले प्रमुखसहित एक सदस्य, माओवादीको उपप्रमुखसहित तीन सदस्य र नेकपा एकीकृत समाजवादीको तीन सदस्य पाउने सहमति भएको छ । यसअघि एमाले र नागरिक उन्मुक्तिसँग भएको सहमतिमा माओवादीले चार सदस्य पाउने सहमति गरेका थिए । नागरिक उन्मुक्तिले प्रमुखसहित २ सदस्य र एमालेले उपप्रमुखसहित २ सदस्य पाउने सहमति गरिएको थियो ।