धनगढीको शिवपुरी धाममा कल्पवृक्षको जन्मोत्सव मनाइयो
2022/06/05, 5:07
 
aa

देशभर विश्व वातावरण दिवस मनाइरहँदा धनगढीको शिवपुरी धाममा हुर्कदै गरेको कल्प वृक्षको पहिलो जन्मोत्सव मनाइएको छ। ६ हजार वर्षसम्म बाँच्न सक्ने कल्पवृक्षको पहिलो जन्मोत्सव हिन्दू धार्मिक परम्पराअनुसार आज शिवपुरी धाममा मनाइएको हो। शिवपुरी धाम व्यवस्थापन समिति अध्यक्ष बलदेव भट्ट, नेपाल पत्रकार महासंघ कैलाली अध्यक्ष हिमालय जोशी, पत्रकार दीपक ओली, पुष्पराज जोशीले हिन्दू धार्मिक परम्परा अनुसार कल्प वृक्षको पूजन गरी प्रथम वार्षिकोत्सव मनाएका हुन्।

जर्मनीबाट कल्प वृक्षको बीउ ल्याएर नेपालगन्जमा गत वर्ष उमारिएको थियो। हरित अभियान तथा कल्प वृक्ष अभियानका अभियन्ता हेमन्तराज काफ्लेका अनुसार धनगढीको शिवपुरी धाममा रोपिएको कल्प वृक्ष गत वर्ष जेठ २२ गतेकै दिन व्याडमा टुसाएको थियो। ‘कल्प वृक्ष टुसाएको अर्थात जीवन पाएकै दिनलाई हामीले कल्प वृक्ष दिवसका रुपमा मनाउने निर्णय गरेर कल्प वृक्षको पहिलो जन्मोत्सव मनाएका हौं,’ अभियन्ता काफ्लेले भने,‘संयोग विश्व वातावरण दिवस र कल्प वृक्ष दिवस एकै दिन प¥यो।’

अहिले विश्वमा बढ्दो प्रदूषणका कारण मानव जाति र प्रकृतिलाई असर परिरहेको छ। वातावरण स्वच्छ राख्न पर्यावरण जोगाउनु पर्छ भन्ने सन्देश दिन शिवपुरी धाममा आफूले रोपेको कल्प वृक्षको जन्मोत्सव मनाइएको बताए। समुन्द्र मन्थन हुँदा निस्केका १४ रत्न मध्येको एक रत्न कल्प वृक्षलाई हिन्दू धर्ममा धार्मिक महत्वका रुपमा लिइन्छ। स्वर्गको वृक्ष मानिएको कल्प वृक्ष मुनि बसेर कल्पना गरेको बस्तु पाइन्छ भन्ने विश्वास धार्मिक ग्रन्थहरुमा उल्लेख भएको शिवपुरी धामका पण्डित हरिनारायण भट्टले बताए।