प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विकासबाट निकै पछाडि रहेको बताएका छन्। सुदूरपश्चिमाञ्चल सरोकार मञ्चको ११ औं साधारणसभामा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
उनले सुदूरपश्चिम अझै पनि विकासबाट निकै पछाडि रहेको बताए। उनले भने, ‘गरिबी अझैपनि घटेको छैन। हाम्रा युवाहरू अझै बम्बई जाने, मद्रास जाने गर्छन्। लाहुर जाने भन्छन्। यस्तो अवस्था छ।’ सुदूरपश्चिमको आर्थिक अवस्थाका विषयमा पनि उनले चिन्ता प्रकट गरे। ‘सुदूरपश्चिमको आर्थिक अवस्था अझैपनि उठ्न सक्या छैन,’ उनले भने।
सुदूरपश्चिममा विकासको सम्भावना देखाउँदै प्रधानमन्त्री देउवाले भने,‘महाकाली त्यहीँ छेन, सेती त्यहीँ छ। त्यसको विकास गर्न सकेको खण्डमा अवश्य नै सुदूरपश्चिम धनी हुन्छ।’ मातृभूमिको विकासका विषयमा चासो र चिन्ता प्रकट गरी सुदूरपश्चिम सरोकार मञ्च नेपालले १६ वर्षदेखि काम गर्दै आएकोमा प्रधानमन्त्री देउवाले धन्यवाद दिए।