अछाममा शाही हत्या प्रकरणः कुकुरसहित घटनास्थल पुग्यो अनुसन्धान टोली
2022/06/05, 5:14
 
ss

अछामको पञ्चदेवल विनायक नगरपालिका(४ कालिकास्थान, कुच्चीका १७ वर्षीय विनोद शाहीको हत्यारा पत्ता लगाउन प्रहरीले कुकुर प्रयोग गरेको छ। प्रदेश प्रहरी कार्यालयले पठाएको सीआइबी टोलीले हत्या घटना अनुसन्धानमा तालिम प्राप्त कुकुरको सहायता लिएको हो। शनिबार पठाइएको सीआइबी टोली आज बिहान कुकुरसहित घटनास्थल पुगेको छ।

यसअघि घटनाको निष्पक्ष छानबिनको माग गर्दै मृतकका आफन्तले शनिबार इलाका प्रहरी कार्यालयमा घेराबन्दी गरेका थिए। प्रदर्शनको क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै हवाई फायर गरेको थियो। १० कक्षामा अध्ययनरत शाही हराएको पाँच दिनपछि शनिबार घर नजिकको जंगलमा शव भेटिएको थियो। चुनावको विषयलाई लिएर कालिकास्थानमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरूबीच भएको झडपपछि उनी बेपत्ता भएको बताइएको छ। घटनाले अहिले राजनीतिक रूप लिएको छ। उनी एमाले निकट भएको बुझिएको छ। एमाले कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्ताबाट शाहीको हत्या भएको आरोप लगाएका छन्।

मतदानको क्रममा कांग्रेसका कार्यकर्ताले अर्कै मतदाताको नाममा मत हाल्न खोजेको भन्दै स्वास्थ्यचौकीमा रहेका दुईवटा बुथमा झगडा भएको थियो। झडपमा एमाले कार्यकर्ताहरू चक्र शाहीलगायत घाइते भएका थिए। त्यही घटनाले उग्र रूप लिएको हो। चुनावपछि एमाले कार्यकर्ताहरूको कुटाइबाट आफ्ना नेता सुरज शाही घाइते भएको भन्दै कांग्रेसले प्रशासनमा दिएको उजुरीका आधारमा प्रहरीले १७ गते राति एमाले कार्यकर्ताको घरमा धरपकड गरेको थियो।

प्रहरीले सुरज शाहीमाथि आक्रमणको घटनामा संलग्न रहेको आरोपमा देवेन्द्र शाही र मंगल शाहीलाई पक्राउ गरेको छ। कृष्ण शाही, निराजन शाही, हिम्मत शाही, कमल शाही, भद्र शाही, राजेन्द्र शाही र विनोद शाही फरार भएको डीएसपी रविराज थपलियाले बताएका थिए। मध्यरात कांग्रेस जनप्रतिनिधिसँगको साँठगाँठमा प्रहरीले घरमा हस्तक्षेप गरेलगत्तै बेपत्ता भएका विनोद शाहीको शव हिजो भेटिएको हो। नेकपा एमालेका पूर्व जिल्ला सदस्य बलबहादुर शाहीका छोरा मृतक किशोरको चुनावी रिसिइवीकै कारण हत्या भएको आरोप छ।