बाजुराको बुढीगंगामा चौथो पटक फेरिए निर्वाचन अधिकृत, मतदान मिति अन्योलमै
2022/06/05, 5:15
 
apsari

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बाजुराको बुढीगंगा नगरपालिकामा चौथो पटक निर्वाचन अधिकृत फेरबदल गरेको छ। आयोगले बुढीगंगाको निर्वाचन अधिकृतमा चार दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत अतिरिक्त समूहमा कार्यरत लक्ष्मणबहादुर कठायतलाई तोकेको हो।

कठायतभन्दा अगाडि अटाएका तीन जना निर्वाचन अधिकृत फिर्ता भइसकेको छन्। कठायत पनि बाजुरा पुगेका छैनन्। आइतबार धनगढीबाट हिँड्ने उनको भनाइ छ। जिल्ला पुगेर दलहरुबीच छलफल गरेपछि मतदान हुने मिति तोक्ने उनको दाबी छ। तेस्रो पटक आयोगले बाजुरा अदालतका श्रेष्तेदार पुष्पराज पाण्डेलाई निर्वाचन अधिकृत तोकेको थियो। व्यक्तिगत कारण देखाउँदै पाण्डे पनि तोकिएको जिम्मेवारी पूरा गर्न पन्छिएपछि आयोगले चौथो पटक कठायतलाई तोकेको हो।

अन्यत्र सबै स्थानीय तहमा निर्वाचन सम्पन्न भई नवनिर्वाचित जनप्रतिनिधिहरुले कामकाज सुरु गरिसकेका भएपनि बुढीगंगामा भने अझै अन्यौल कायमै छ। नेपाली कांग्रेस र नेकपा एमालेबीच मतगणना वा पुनः मतदान भन्ने सम्बन्धमा उत्पन्न विवादको छिनोफानो गर्दै आयोगले जेठ १२ गते बुढीगंगाका सबै १० वटै वडामा पुनः मतदान गराउने निर्णय गरेको थियो। पुनः मतदान गराउने मिति तोक्ने अधिकार निर्वाचन अधिकृतलाई दिइएको भएपनि पुनः मतदान हुने मितिको भने आइतबारसम्म टुंगो लागेको छैन।