अछामका किशोर मृत्यु प्रकरण: नगर प्रमुख र डिएसपीको पुतला दहन
2022/06/06, 5:10
 
ss

अछामको पंचदेवल विनायक नगरपालिकामा १६ वर्षीय किशोर मृत अवस्थामा भेटिएसँगै विनायक क्षेत्र तनावग्रस्त बनेको छ। आन्दोलित आफन्तहरूले सोमवार विनायक बजारमा नगर प्रमुख अम्बिका चलाउने, अछामका प्रहरी प्रमुख रविराज थपलिया र निवर्तमान वडा अध्यक्ष सज्जनबहादुर शाहीको पुतला दहन गरेका छन्।

किशोरको हत्यामा संलग्न रहेको भन्दै नगर प्रमुख चलाउने, निवर्तमान वडा अध्यक्ष सज्जन शाही र अपराध निम्त्याउन भूमिका खेलेको भन्दै प्रहरी प्रमुख थपलियाको पुतला दहन गरेका हुन्। नेपाली कांग्रेस समर्थकहरूले उनको हत्या गरेको भन्दै शनिवारदेखि आन्दोलन गर्दै आएका किशोरका आफन्तले मध्य पहाडी लोक मार्गमा चक्काजाम समेत कायम राखेका छन्। 

विद्यालय मन्दिर माध्यामिक विद्यालय विनायकमा कक्षा १० मा अध्ययनरत किशोरको मृत्युको विषयलाई लिएर विनायकमा विद्यार्थीहरुले समेत प्रदर्शन गरेका छन्। ‘हत्यारालाई फाँसी दे, हत्यारालाई पक्राउ गर, किटानी जाहेरी दर्ता गर’ लगायतका नारा सहित बिद्यार्थीहरुले विनायक बजारमा प्रदर्शन गरेका हुन्।

नगरपालिकाको वडा नम्बर ४ कालिका स्थानका १६ वर्षीय विनोद शाही मृत अवस्थामा भेटिएपछि विनायक क्षेत्र शनिवारदेखि तनावग्रस्त बनेको छ।  जेठ १७ गते साँझदेखि बेपत्ता रहेका किशोरको शव २१ गते बिहान स्थानीय कुच्ची भिरको खोँचमा फेला परेको थियो।

शव भेटिएसँगै नगरप्रमुख चलाउने सहित १८ जनाका नाममा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि आफन्तहरू आन्दोलनमा छन्। किटानी जाहेरी दर्ता नहुन्जेल किशोरको शव उठाउन नदिने आफन्तको अडान छ।