अछाम किशोर मृत्यु प्रकरणः एसएसपी नेतृत्वको टोली पनि परिचालन, अझै उठेन शव
2022/06/07, 12:15
 
ss

अछाममा किशोर मृत्यु प्रकरणको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाइ महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी जनकराज पाण्डे नेतृत्वको टोली खटाएको छ।

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआइजी मोहनकुमार आचार्यका अनुसार अपराध अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा खटाइएको टोली अछाम पुगिसकेको छ। आजदेखि एसएसपी नेतृत्वको टोलीले काम सुरु गर्ने उनले बताएका छन्।

यसअघि सीआईबीका डिएसपी मनोहरप्रसाद भट्टको कमाण्डमा ६ सदस्यीय टोली पनि खटाइएको छ। सीआईबीको टोली खटाइएपछि अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलनका कार्यक्रम फिर्ता लिएका स्थानीयले प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेको भन्दै घटनास्थलबाट शाहीको शव उठाउन दिएका छैनन्।

पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोदबहादुर शाही शनिबार बिहान मृत भेटिएका थिए। उनी पञ्चदेवल विनायक–४ कै कालिकास्थान स्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा मृत फेला परेका थिए। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन सो नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो।

चुनावको विषयलाई लिएर कालिकास्थानमा एमाले र कांग्रेसका कार्यकर्ताहरूबीच भएको झडपपछि उनी बेपत्ता भएको बताइएको छ। एमाले कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्ताबाट शाहीको हत्या भएको आरोप लगाएका छन्।