भारतमा कोरोना संक्रमण प्रतिदिन बढ्दै जादा घर फर्किने नेपालीमा पनि संक्रमण देखिन थालेको छ । तर सीमा नाकामा भने रोकथामका लागि अपनाउनुपर्ने सतर्कतामा लापरवाही देखिएको छ ।
भारतबाट घर फर्किनेमध्ये बुधबार ३ जनामा कोरोना देखिएको छ । उनीहरू तीनै जना भारतको महाराष्ट्रबाट आएका थिए । गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज सिनियर अहेब तर्कराज भट्टका अनुसार बुधबार डेढ महिनापछि घर फर्किनेमा संक्रमण देखिएको हो ।
भारतमा बुधबार मात्रै ७ हजार बढीमा कोरोना पुष्टि भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४९० प्रतिशतले बढी हो । महाराष्ट्र, केरल र कर्नाटक लगायतका राज्यमा संक्रमण तीब्र अवस्थामा बढिरहेको देखिएको छ । यी क्षेत्रबाट आउने नेपालीमा संक्रमण देखिन थालेको हेल्थ डेस्कले जनाएको छ ।
बुधबार गड्डाचौकी नाकाबाट आएका २०७ जनाको परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको थियो । बिहीबार २७७ जनाको परीक्षण गर्दा संक्रमण देखिएन । भारतबाट घर फर्किनेमध्ये लक्षण देखिएका र दुई डोज खोप नलगाएकाहरूको मात्रै परीक्षण हुने गरेको हेल्थ डेस्कका इन्चार्ज भट्टले बताए । उनका अनुसार गड्डाचौकी नाका भएर घर फर्किने सबैको परीक्षण सुरु गरिएको छ । अहिले सम्म दुई मात्रा खोप लगाएका र भारतीय नागरिकको परीक्षण हुँदैनथ्यो ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवराज सुनारले घर फर्किनेमा संक्रमण देखिएसँगै नाकामा समेत कडाइ सुरु गरिएको बताए । उनले भारतको कोरोना संक्रमण बढी देखिएको स्थानबाट घर फर्किनेमा बढी निगरानी बढाइएको बताए ।
अहिले भारतबाट दैनिक ५ सय बढीको संख्यामा नेपालीहरू घर फर्किरहेका छन् । तर तीमध्ये आधाको मात्रै स्वास्थ्य परीक्षण भइरहेको छ । यसबाहेक नेपाल भित्रिने भारतीय नागरिकको पनि परीक्षण गरिँदैन । यसले संक्रमण बढ्ने जोखिम झनै बढाएको छ । नाकामा चेकजाँच बढाउनुका साथै आन्तरिक रूपमा पनि सतर्कता अपनाउन कडाइ गर्ने तयारी भइरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए ।
उनले अहिले भारतमा संक्रमण देखिएकाले नाकामा नेपाल भित्रिनेको परीक्षणमा कडाइ गरिने र जिल्लाभित्रै बढी मात्रामा देखिन थाले स्वास्थ्य सुरक्षाका मापदण्डमा पनि कडाइ गरिने बताए । भारतबाट घर फर्किने नेपालीहरूको गड्डाचौकी नाकामै एन्टिजेन परीक्षणसँगै खोप नलगाएकाहरूलाई खोप पनि लगाइन्छ । तर भारतीय नागरिकहरूको हकमा भने निकै खुकुलो पारिएको छ ।