शनिबार साँझ आएको हावाहुरीले कैलालीका विभिन्न ठाउँमा क्षति पुर्याएको छ। प्रहरीका अनुसार हुरीले जिल्लाको टीकापुर नगरपालिकाका स्थानीयका घरहरुमा क्षति पुर्याएको हो।
नगरपालिकाको वडा नम्बर १ विशालनगर शिविरका भरत बिकको ३ कोठे टायलले छाएको कच्ची घरमाथि रुख ढली पूर्णरुपमा क्षति भएको, विशालनगर शिविरमै सालको रुख ढली ३ वटा बिजुलीका पोलहरु भाँचिएको र टीकापुर(४ मौरनिया बस्ने भल्लुराम चौधरीको २ कोठे कच्ची घर र भान्सामाथि रुख ढल्दा पूर्णरुपमा क्षति भएको प्रहरीले बताएको छ।
त्यस्तै, हुरीले मौरनियाकै निर्मला चौधरीको ३ कोठे कच्ची घरको पुरै जस्ता पाता उडाएको, वडा नम्बर ५ की दुर्गा धामी र वडा नम्बर ७ माझगाउँका बादुराम थारुको पनि २ कोठे कच्ची घरको जस्तापाता उडाएको र सोही वडाको हुलाकी टोलका हरीप्रसाद चौधरीको गोठको जस्ता पाता उडाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
वडा नम्बर ५ बंगलापुरका बुद्धिराम थारुको २ कोठे कच्ची घरको सबै टायल फुटेको र वडा नम्बर ४ बागमाराका टेकेन्द्र धामीको शुभम एग्रो फर्ममा विद्युतको पोल ढली क्षती हुनुका साथै केरा बारीमा समेत क्षति भएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
सोही वडाको बागमाराका जोखनलाल चौधरीको २ कोठे कच्ची घरको पुरै जस्ता पाता उडाएको र नजिकै पार्किङ गरिएको मोटरसाइकल र एक साईकलमा क्षती भएको उनले बताए।