नेपालमा मनसुन प्रवेश भएको हप्तादिन भइसके पनि सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्बाट जोगिनका लागि अहिलेसम्म कुनै तयारी भएको छैन ।मौसम पूर्वानुमान महाशाखाले यो वर्ष सुदूरपश्चिम प्रदेशमा औसतभन्दा बढी पानी पर्ने भनेर सतर्क गराए पनि प्रदेश सरकारले अहिलेसम्म केही पनि तयारी नगरेको हो । यद्यपि, यो प्रदेशमा अहिलेसम्म मनसुन भने पुगिसकेको छैन । मौसम पूर्वानुमान महाशाखाले यसवर्ष सुदूरपश्चिम प्रदेशमा औसतभन्दा बढी ५५ देखि ६५ प्रतिशतसम्म वर्षा हुने प्रक्षेपण गरेको छ ।
गतवर्ष विभिन्न समयमा आएको बाढी, पहिरो पहिरोमा परेर यस प्रदेशमा कैयौंले अकालमै ज्यान गुमाएका थिए । डोटी, बझाङ, दार्चुलामा धेरैको ज्यान गएको थियो । विपद् कहिल्यै पनि पूर्व जानकारी दिएर आउँदैन । त्यसबाट जोगिन र क्षति न्यूनीकरणका लागि पहिले नै आवश्यक तयारी गर्नु पर्दछ । तर, हाम्रो प्रदेशमा अहिलेसम्म न विपद् प्रतिकार्य योजना तयार गरिएको छ, न त पूर्व तयारी नै । तर, विपद् प्रतिकार्य योजना बनाउनका लागि तयारी भइरहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
सम्भवतः असार १० गतेसम्म विपद् प्रतिकार्य योजना तयार हुने मस्यौदा समितिका संयोजकसमेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव विश्वदीप बेस्राले जनाए । ‘विपद् प्रतिकार्य कार्ययोजनाको मस्यौदा तयार पार्नका लागि काम अगाडि बढाइएको छ’, उनले भने । ‘अलिकति ढिलो भए पनि असार १० गतेभित्र कार्ययोजना तयार पार्छौँ ।’, मन्त्रालयका उपसचिवमा बेस्राको संयोजकत्वमा रहेको मनसुन पूर्व तयारी तथा प्रति–कार्ययोजना मस्यौदा समितिले मनसुन विपद् प्रति कार्ययोजना निर्माणका लागि छलफल अगाडि बढाएको छ । सो समितिमार्फत विभिन्न सरोकारवाला निकायसंग तीनवटा छलफल कार्यक्रम सम्पन्न भइसकेको जनाइएको छ ।
यसैगरी, प्रदेशमा बाढी, पहिरो, डुबानसहित प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण गर्ने लगायत विभिन्न प्रक्रियागत निर्णय गर्नका लागि मुख्यमन्त्रीको अध्यक्षतामा विपद् व्यवस्थापन परिषद रहेको छ । तर, फागुन यता सो परिषदको अहिलेसम्म बैठकसमेत बस्न सकेको छैन । असोजमा आएको बाढी पहिरोमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत वितरणका लागि बैठक बसेको थियो । त्यसपछि अहिलेसम्म परिषद्को बैठक नबसेको बेस्राले जनाए ।
परिषदले गरेको निर्णयको आधारमा प्रदेशमा विपद् न्यूनीकरणका लागि सहित आवश्यक विभिन्न निर्णय हुने गरेको छ । यसैगरी, कार्ययोजनाको आधारमा पूर्व तयारी, जोखिम न्यूनीकरण, खोज तथा उद्धार, व्यवस्थापन लगायतका काम हुने गरेको छ । यसवर्ष अहिलेसम्म कार्ययोजना तयार नभए पनि यस वर्ष पनि जोखिम न्यूनीकरण, खोज तथा उद्धारका लागि भएका स्रोत साधनको यकिन गर्ने र त्यसलाई परिचालन गर्ने सवालमा छलफल भइरहेको जनाइएको छ ।
विपद्को क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था, रेडक्रस, स्थानीय तह, जिल्लास्थित विपद् व्यवस्थापन समितिसंगसमेत छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।मौसम पूर्वाणुमान महाशाखाको सूचनालाई आधार मानेर सुदूरपश्चिम प्रदेश सरकारले यसवर्ष पनि गतविगतझैं नदी तटीय क्षेत्रमा नै बढी जोखिम हुने जनाएको छ । यस वर्ष मनसुनमा पहाडी केही जिल्लासहित कैलाली, कञ्चनपुरमा औसतभन्दा बढी वर्षा हुने मौसम पर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ ।
कञ्चनपुरको दक्षिणी क्षेत्रसहित कैलालीको धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिकामा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान छ । यसैगरी, कैलालीकै गोदावरी नगरपालिकाको केही क्षेत्र र जोशीपुर नगरपालिकाको केही क्षेत्रमा भनि औसतभन्दा बढी वर्षा हुने जनाइएको छ । औसतभन्दा बढी वर्षा हुने स्थानीय तहहरु कैलालीका सबैभन्दा बढी बाढी, डुबान समस्या हुने पालिकाहरु हुन ।
गतवर्ष कात्तिकमा भएको बेमौसमी वर्षाले यो प्रदेशमा ठूलो धनजनको क्षति भएको थियो । सोही वर्ष बर्खामा बाढी, पहिरोले पनि धनजनको क्षति गरेको थियो । प्राकृतिक विपद्मा परेर चालू आर्थिक वर्षको हालसम्म प्रदेशभरि ५५ जनाले ज्यान गुमाइसकेका छन् । गतविगतको विपद्बाट शिक्षा लिएर यसवर्ष विपद् न्यूनीकरणका लागि अगाडि बढ्नु पर्ने विज्ञहरुको सुझाव छ । सरकारले पूर्व सूचना प्रणालीलाईमात्रै बलियो बनाएमा धेरै हद्सम्म जोखिम कम गर्न सकिने जलवायु र विपद्बारे जानकार डा. धर्मराज उप्रेतीको भनाइ छ । तर, विपद् व्यवस्थापनको सबै चक्रहरुमा काम नगरेसम्म जोखिम कम गर्न समस्या रहिरहने उनको बुझाइ छ ।
यसैबीच, सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्लाको विपद् सम्बन्धी सूचना सङ्कलन र प्रवाहका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको छ । यो वर्षबाट कार्य सञ्चालन केन्द्रलाई थप व्यवस्थित गर्ने जनाइएको छ ।