सुदूरपश्चिमको ४० हजार बढी हेक्टर क्षेत्रफलमा रोपाई (जिल्लागत विवरण सहित) 
2020/06/23, 10:06
 
ropai

सुदूरपश्चिम प्रदेशको ४० हजार बढी हेक्टर क्षेत्रफलमा रोपाई भएको छ । समयमै मनसुय भित्रिएपछि असारको पहिलो सातासम्म ४० हजार २ सय ४४ हेक्टर क्षेत्रफलमा रोपाई भएको हो । सुदुरपश्चिमको ९ जिल्लामा एक लाख ८१ हजार ६ सय चार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । त्यसको ४० हजार २ सय ४४ हेक्टर अर्थात २२ प्रतिशत क्षेत्रफलमा रोपाई सकिएको कृषि निर्देशनालय दिपायलले जनाएको छ ।

‘अघिल्लो बर्षको असार १५ गतेसम्म २२ प्रतिशत मात्रै रोपाई भएको थियो । यसपाली समयमै पानी परेपछि किसानहरुलाई राहत भएको छ । आकासे पानीको भरमा रोपाई हुने ठाउँहरुमा पनि रोपाई भएको छ ।’ कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले भने–‘यसपाली चाडो रोपाई सुरु भएकोले पनि सहज भएको हो । सिंचाई सुविधा पनि विस्तार भएकोले किसानहरुलाई आकासे पानीको भर पर्नुपर्ने खेत पनि कम हुदै गएको छ ।’

प्रदेशका ९ जिल्लामध्ये सवैभन्दा कम रोपाई भने धानका लागि उर्वरभुमी मानिने कैलाली र कञ्चनपुरमा भएको छ । कञ्चनपुरमा सवैभन्दा कम १५ प्रतिशत मात्रै रोपाई भएको छ । कैलाली पनि कम रोपाई हुने जिल्लाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । कैलालीमा कञ्चनपुरभन्दा दुई प्रतिशत बढी अर्थात १७ प्रतिशत रोपाई भएको निर्देशक जोशीले बताए । कञ्चनपुरमा ४८ हजार तीन सय ७५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म ७ हजार दुई सय ५६ हेक्टरमा रोपाई गरि सकिएको छ । कैलालीमा ७१ हजार सात सय १५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म १२ हजार एक सय ९२ हेक्टरमा रोपाई भएको छ ।

पहाडी जिल्ला वाजुरामा सवैभन्दा वढी ४५ प्रतिशत रोपाई भएको निर्देशनालयकको तथ्यांक रहेको छ । ७ हजार दुई सय २० हेक्टरमा धान खेती हुने बाजुरामा तीन हजार दुई सय ४९ हेक्टरमा रोपाई सकिएको छ । अछाम र वैतडीमा ४०, ४० प्रतिशत रोपाई भएको छ । अछाममा धान खेती हुने १६ हजार ५ सय ८० हेक्टरमा ६ हजार ६ सय ३२ हेक्टर र बैतडीमा धान खेती हुने ९ हजार हेक्टरमध्ये तीन हजार ६ सय हेक्टरमा रोपाई भएको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिए । दार्चुलामा ३५, डोटी र वझांगमा २५, २५ र डडेल्धुरामा २० प्रतिशत भुभागमा धान रोपि सकिएको जोशीले जानकारी दिए ।

b

उनका अनुसार दार्चुलामा ४ हजार ४ सय ४८ हेक्टरमा धान खेती हुने गरेकोमा एक हजार ५ सय ६८, वझांगमा ७ हजार एक सय १० मा एक हजार ७ सय ७६ र डोटीमा १० हजाार ८ सय ९८ हेक्टरमा धान खेती हुने गरेकोमा दुई हजार ७ सय २५ हेक्टरमा रोपाई भएको छ । त्यसैगरी डडेल्धुरामा ६ हजार दुई सय २६ हेक्टरमा धान खेती गरिदै आएकोमा एक हजार दुई सय ४५ हेक्टरमा रोपाई गरिएको छ । 

यसपाली मनसुन चाँडो भित्रिएका कारण रोपाई पनि चाडो सुरु भएकोले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ । धान खेतीलाई कुनै असर नपरेमा विगतका बर्षभन्दा यसपाली उत्पादन वड्ने निर्देशक जोशीको भनाई छ । ‘अवश्य पनि यसपाली समयमै रोपाई सकिन्छ । यसले उत्पादन बढ्छ । तर यसपछि के हुन्छ भन्न सकिदैन ।’ उनले भने–‘अघिल्लो बर्षभन्दा पहिले नै धेरै रोपाई भईसकेको छ । यो कृषि क्षेत्रका लागि सकारात्मक हो । यसले उत्पादनमा वृद्धि गराउन मदत्त मिल्छ ।’