कञ्चनपुरमा टेलिकमको सेवा चार दिनदेखि अवरुद्ध
2022/06/14, 11:24
 
dd

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। नगरपालिकाको वडा नम्बर १० झलारी बजार क्षेत्रमा टेलिकमको सेवा चार दिनदेखि अवरुद्ध भएको हो।

टेलिकम महेन्द्रनगर शाखाका प्रमुख प्रितम भट्टका अनुसार अप्टिकल फाइबरमा ब्रेक हुँदा सेवा सञ्चालनमा अवरोध भएको हो। अम्मरपुर–कलुवापुर खानेपानी उपभोक्ता समिति र झलारीमा सहरी विकास आयोजनाले निर्माण गरिरहेको सडकमा अप्टिकल फाइबर धेरै ठाउँमा काट्दा सेवा अवरुद्ध भएको बताइएको छ।

सेवाग्राहीले अन्धाधुन्ध डोजर प्रयोग गर्ने उपभोक्ता समिति र ठेकेदारलाई कानुनी कारबाही गर्न माग गरेका छन् भने टेलिकमको लाइन काट्नेलाई कानुनी कारबाहीका लागि पत्राचार गर्ने तयारी भइरहेको टेलिकम महेन्द्रनगर शाखाका प्रमुख भट्टले बताएका छन्।

त्यस्तै, अप्टिकल ब्रेक भएका ठाउँमा मर्मत कार्य भइरहेको टेलिकम अत्तरिया शाखाका वरिष्ठ इञ्जीनियर प्रकाश भट्टले जानकारी दिए।