सुदुरपश्चिममा स्थानीय तह निर्वाचनका सबै कामहरु सम्पन्न भएपछि फेरि मतदाता नामावली संकलनको काम सुरु भएको छ । निर्वाचन आयोगको निर्णय अनुसार असार १ गतेदेखि मतदाता नामावली संकलनको काम सुरु भएको हो ।
निर्वाचन आयोगले इलाका प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्ने र मतदाता नामावली सार्न सक्ने व्यवस्था मिलाईएको जनाएको छ । नयाँ मतदाता दर्ताको क्रम प्रदेश र संघीय निर्वाचनको मिति घोषणा नहुँदासम्म सञ्चालन हुने प्रदेश निर्वाचन कार्यालय धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले बताए ।
स्थानीय तह निर्वाचनका सबै प्रक्रिया जेठ ३० गते समाप्त भएपछि अर्को निर्वाचनको मिति घोषणा नहुँदासम्म मतदाता नामावली सङ्कलनको काम जारी रहने उनको भनाई छ । प्रदेश र संघीय निर्वाचनको मिति घोषणा नभएसम्म मतदाता नामावली सङ्कलन हुने निर्वाचन कार्यालयले जनाएको छ ।
यो अवधिमा मतदाताले एक जिल्लाबाट अर्को जिल्ला, एक पालिकाबाट अर्को पालिका र एक वडाबाट अर्को वडामा बसाइँसराइको प्रमाणपत्रको आधारमा मतदाता नामावली सार्न सक्ने छन् । यस्तै एकै वडामा रहेका मतदाताले आफ्नो पायक पर्ने निर्वाचन केन्द्रमा मतदान स्थल कायम हुने गरी नाम सार्न निवेदन दिन सक्ने निमित्त प्रमुख भट्टले बताए ।
१८ वर्ष पूरा भएको व्यक्तिले मतदाता नामावलीमा दर्ता गर्न इलाका प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा गएर फोटो खिचाउन सक्ने र एक ठाउँबाट अर्को ठाउँमा मतदाता नामावली सार्नका लागि बसाइँसराइको प्रमाणपत्र लिएर आए मतदाता नामावली सार्ने काम पनि गरिने भट्टले जानकारी दिए ।
निर्वाचन कार्यालयले यसअघि तयार भएका मतदाता परिचय पत्र वितरणको काम समेत गरिने जनाएको छ । तयार भएका मतपत्र सम्बन्धित मतदातालाई वडा कार्यालयमार्फत वितरण गर्ने निमित्त प्रमुख भट्टले बताए ।