अछाम विनोद मृत्यु प्रकरण : ५ जना पक्राउ, नगर प्रमुख फरार
2022/06/18, 7:48
 
ss

 अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही मृत भेटिएको घटनाको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । गत जेठ १७ गते रातिदेखि बेपत्ता शाही २१ गते घर नजिकैको जङ्गलमा मृत फेला परेका थिए ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको विवादलाई लिएर युवकको हत्या भएको उनका आफन्तहरूले दाबी गर्दै आइरहेका छन् । मृतकका आफन्तले पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरीसमेत दर्ता गराइसकेका छन् ।

प्रहरीले सुरुमा किटानी जाहेरी दर्ता गर्न आनाकानी गरेपछि विवाद उग्र बनेको थियो । आफन्तले उनीहरूविरुद्ध जाहेरी दर्ता नभएसम्म शव नउठाउने चेतावनी दिएका थिए । किटानी जाहेरी प्रहरीले दर्ता गर्ने भएपछि किशोरको शव ६ दिनपछि उठाइएको थियो । प्रहरीले मेयर चलाउनेसहित १३ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जीसमेत लिइसकेको छ ।

प्रहरीका अनुसार किटानी जाहेरी दर्ता भएका १३ मध्ये ५ जना पक्राउ परिसकेका छन् । ‘पहिलो चरणमा दुई जना पक्राउ परेर म्याद थप भई अनुसन्धान पनि भइरहेको छ’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘दोस्रो चरणमा पक्राउ परेका तीन जनाविरुद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’

प्रहरीले पक्राउ परेका पाँच जनाको नाम भने सार्वजनिक गरेको छैन । नगर प्रमुख चलाउनेको पनि खोजी भइरहेको र उनी फरार रहेको प्रहरी अधिकारीले बताएका छन् । घटनाको अनुसन्धानका लागि वरिष्ठ प्रहरी उपरीक्षक जनकराज पाण्डे र सीआईबीका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट नेतृत्वको टोली खटाइए पनि अनुसन्धानमा प्रगति भएको छैन ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक भोलाबहादुर रावल भने घटनाको अनुसन्धान जारी रहेको र अनुसन्धान सकारात्मक दिशातर्फ केन्द्रित रहेको बताउँछन् । स्थानीयले भने प्रहरी प्रशासनले घटनालाई गम्भीर रूपमा नलिएको र घटनामा संलग्न रहेकाहरूलाई पक्राउ नगरेको आरोप लगाएका छन् । आरोपीलाई पक्राउ गर्न आनाकानी गरेको भन्दै उनीहरू फेरि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले बिहीबार पञ्चदेवल विनायक नगरपालिका र जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।

शुक्रबार उनीहरूले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी र प्रहरी प्रमुख रविराज थपलियाको निलम्बनको मागसमेत गरेका छन् । शनिवार स्थानीयले पत्रकार सम्मेलनको आयोजना गर्दै घटनाबारे प्रहरी प्रशासनले चासो नदिएको आरोप लगाएका छन् । प्रहरीकै कारण १७ गतेको घटना भएको उनीहरूको ठहर छ ।स्थानीयको विरोधका कारण जेठ २१ गतेदेखि पञ्चदेवल विनायक नगरपालिका बन्द छ ।