कैलालीमा लोपोन्मुख राजी स्थानीय तहमा तीन जनाको प्रतिनिधित्व भएको छ । दुई जना वडा सदस्य र एक जना कार्यपालिका सदस्य गरेर तीन जनाको प्रतिनिधित्व भएको हो ।
तिनै जना भजनी नगरपालिकावासी हुन । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट भजनी नगरपालिकाको वडा नम्बर ५ मा नेकपा ९एमाले० बाट खडकबहादुर राजी वडा सदस्यमा विजयी भए । उनले ५१८ मत प्राप्त गरे । यसैगरी, सोही पार्टीबाटै वडा नम्बर ९ को वडा सदस्यमा मीनबहादुर राजी अत्यधिक मत प्राप्त गरेर विजयी भए । उनले ८३९ मत प्राप्त गरे ।
यस्तै, कार्यपालिका सदस्यमा रामदेव राजी निर्वाचित भएका छन् । कार्यपालिका गठनका लागि नागरिक उन्मुक्ति पार्टी र नेकपा ९एमाले० बीच गठबन्धन भएको थियो । कार्यपालिका गठनका लागि गठबन्धन भएपछि लोपोन्मुख अल्पसङ्ख्यकको तर्फबाट नेकपा एमालेले नै राजीलाई कार्यपालिका सदस्यका लागि पठाएको हो ।
भजनी नगरपालिकामा राजी समुदायको बसोबास अरु पालिकाकोभन्दा बढी रहेको छ । यो पालिकाको भुरुवा गाउँमा सबैभन्दा बढी राजी परिवार बस्दै आएका छन् । पालिकामा बस्दै आएका राजी समुदायबाट तीन जना व्यक्ति जनप्रतिनिधिको रुपमा निर्वाचित भएका भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले बताए ।
भजनीसहित टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा पनि राजी समुदायको बसोबास छ । तर, दुई पालिकामा थोरै रहेका यो समुदायका व्यक्तिको सम्बन्धित पालिकामा प्रतिनिधित्व हुन सकेन । लोपोन्मुख राजी समुदाय गुजाराका लागि वन र नदीनालामा आश्रित छन् । वन चहार्दै मौरीको मह सङ्कलन गर्ने र गाउँघरमा बिक्री गर्ने यो समुदायको परम्परागत पेशा हो । यसैगरी, नदीनालामा माछा मारेर पनि गुजारा चलाउने गरेका छन् ।
यस्तै, कैलालीमा सीमान्तकृत, अल्पसङ्ख्यक समुदायका केही व्यक्तिको पनि स्थानीय सरकारमा प्रतिनिधित्व भएको छ । जानकी गाउँपालिकाको कार्यपालिका सदस्यमा नरबहादुर कुमाल र कैलारी गाउँपालिकाको कार्यपालिका सदस्यमा मनिराम कुमाल निर्वाचित भउका छन् । कुमाल जातिका मानिस माटाको भाडा बनाएर जोहो गर्दै आएका छन् ।
यसैगरी, भजनी नगरपालिकाको दलित महिला वडा सदस्यमा नेपाली काङ्ग्रेसबाट मायादेवी धोबी निर्वाचित भएकी छन् । सोही पालिकाको वडा सदस्यमा नागरिक उन्मुक्ति पार्टीबाट अल्पसङ्ख्यक समुदायका रुपनप्रसाद लोनियाँ निर्वाचित भएका छन् ।