भीमदत्त नगरपालिकाले अघिल्लो कार्यकालको आर्थिक दायित्व र आगामी लक्ष्यसहितको श्वेतपत्र जारी गरेको छ। नगरपालिकाको यही असार ८ गते बस्ने नगर सभा बैठकको पूर्व सन्ध्यामा नगरपालिकाले श्वेतपत्र जारी गरिएको हो।
श्वेतपत्रमा अघिल्लो कार्यकालको रु ३९ करोड ३३ लाख दायित्व देखिएको छ। यसमा ३८ करोड ६८ लाख पुँजीगत र रु ६५ लाख ४६ हजार चालु खर्च छ। नगरपालिकाको पुँजीगततर्फ हालसम्मको भुक्तानी गर्न बाँकी रकम नगरपालिकाको प्रशासनिक भवनको सङ्घबाट प्राप्त हुने समपूरक रकम रु छ करोड ७५ लाखबाहेक कूल पुँजीगत तिर्न बाँकी रकम ३८ करोड ६८ लाख ४१ हजार ९९८ रहेको छ।
चालु दायित्व तिर्न बाँकी रकम ६५ लाख ४६ हजार ८४० गरी जम्मा रु ३९ करोड ३३ लाख ८८ हजार ८३८ नगरपालिकाले तिर्नुपर्ने छ। श्वेतपत्रमा बजेट सुनिश्चितता नभएर ठेक्का लगाएको, ठूलो रकम रकमान्तर गरिएको, डीपीआर प्रतिवेदन बनाइएको, आन्तरिक स्रोतले धान्न नसक्ने गरी कर्मचारी भर्ना गरिएको, इन्धन खर्चमा मितव्ययिता अपनाउन नसएिको र ठूलो मात्रामा कोटेशन गरिएको कारणबाट दायित्व बढेको उल्लेख गरिएको छ।
दायित्वलाई सङ्घ र प्रदेश सरकारसित पहल गरी घटाउने जाने नगरपालिकाको योजना छ। आन्तरिक स्रोतले मात्रै धान्न नसकिने भएकाले माथिल्लो सरकारसित पहल गरी आवश्यक निर्माणका कार्य सञ्चालन गरिने श्वेतपत्रमा उल्लेख गरिएको छ।