२०७४ भदौमा महाकाली नदीमा चार लेनको पक्की पुलसँगै ६ लेनको पहुँचमार्ग शिलान्यास भयो। महाकाली नदीमा चार लेनको ८०० मिटर पक्की पुल छ। पारि दोधारातर्फ ८५० मिटर ६ लेनको सडक बनिसकेको छ। वारि भीमदत्तको तटीयक्षेत्र हँुदै उत्तर गड्डाचौकीसम्म पाँच किलोमिटर पहुँचमार्ग बनेपछि यस क्षेत्रमा विकासले केही मुहार पनि फेरेको छ।
सुदूरपश्चिमकै ठूलो आयोजनामध्ये महाकाली पुल योजनाको दोधारा चादँनी सडक खण्डमा एक सय मिटर कालोपत्र गर्ने काममा भने दुई वटा सिमलको रुख बाधक बनेका छन्। रुख हटाउन नसक्दा सडक निर्माण चार वर्षभन्दा बढी समय ढिला भइसकेको छ।
पहुँच मार्गमा पर्ने दुई वटा सिमलका रुख हटाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमार्फत प्रक्रिया अघि बढाइएको एक वर्षपछि मन्त्रिपरिषद्बाट बल्ल निर्णय भएको छ। ‘विभागीय मन्त्रालयमा धेरै पटक सिमलको रुख हटाउने विषयमा परिपत्र ग¥यौँ, तर सुनुवाइ भएन,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले भने, ‘केही दिनअघि मात्रै मिडियामार्फत मन्त्रिपरिषद्को निर्णयले हटाउनू भन्ने कुरो सुने तर पत्र आइपुगेको छैन।’ प्रमुख संरक्षण अधिकृत मेहताले सरकारले नै निर्णय गरिसकेकाले अब समस्या नहुने बताए। उनले पत्र प्राप्त हुनासाथ रुख हटाउने काम सुरु हुने बताए।
झण्डै दुई महिनाअघि दोधारा र चादँनीस्थित प्रस्तावित सुख्खा बन्दरगाह क्षेत्रको अनुगमनका क्रममा केन्द्रबाट आएको मन्त्रिस्तरीय टोलीलाईसमेत स्थानीयबासीले सडकमा पर्ने रुख हटाउनका लागि पहल गरिदिन आग्रह गरेका थिए।
महाकाली पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले दुई वटा रुख हटाउन पहल गर्न प्रक्रियागत कारणले निकै ढिलो भएको बताएको छ। कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्सट्रक्सनका इञ्जिनियर किशोरराज पाण्डेयले रुख हटाउने प्रक्रियाका कारण सडक कालोपत्र गर्न ढिलाइ भएको तर पारिपट्टी भने पाँच सय मिटर कालोपत्रे सकिएको बताए।
उनले भने, ‘२०७४ चैतदेखि नै उक्त रुख हटाउन सरोकारवाला निकायसित पहल थालिएको थियो।’ महाकाली पुल आयोजनाको ८० प्रतिशत काम सकिएको छ। आयोजनाअन्तर्गत तटबन्ध निर्माणको काम भने हुनसकेको छैन।