बाजुरामा पहिरोमुनि स्वास्थ्य चौकी: डरै डरमा सेवा दिँदै स्वास्थ्यकर्मी
2022/07/06, 6:23
 
ss

बाजुराको एक स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीले पहिरोको डरैडरमा स्वास्थ्य सेवा प्रवाह गर्नुपरेको छ। बाजुराको खप्तड छेडेदह गाउँपालिकाका–५, डोगडी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीले पहिरोले पुर्ला कि भन्ने डरैडरमा बिरामीको उपचार गर्नुपर्ने अवस्था छ । असारको १३ गते स्वास्थ्य चौकीमाथिबाट आएको पहिरोले बर्थिङ सेन्टर पुरिदिएको थियो ।

बाजुराको खप्तड छेडेदह गाउँपालिकाका–५, डोगडी स्वास्थ्य चौकी कतिखेर पहिरोमा पर्ला भन्ने डरैडरमा स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन् । बिरामीको उपचार गर्नेबेला बाहिर एक जनालाई पहिरो हेर्न राखेर स्वास्थ्य चौकीभित्र बस्नुपर्ने अवस्था रहेको डोगडी स्वास्थ्य चौकीका प्रमुख दलबहादुर रावतले बताए । उनका अनुसार अहिले स्वास्थ्य चौकीमा धेरै जस्तो गर्भवती महिला आउने गरेका छन् । स्वास्थ्य संस्थामा आएका बिरामीको उपचार गर्नुपर्ने बाध्य भएकाले स्वास्थ्यकर्मी सबै त्यसैमा व्यस्त हुने हुँदा बाहिर के भयो ? भन्ने कुरा थाहा नहुने भएकाले एक जनालाई पहिरो आए नआएको हेर्न लगाउने गरिएको छ । खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका स्थानीय महिला पुरु बुढाले आफू बिरामी भएपछि घरमा स्वास्थ्यकर्मी बोलाउन सकिएन, स्वास्थ्य चौकीमा उपचार गर्नु जाऊँ भने पहिरोले त्यतै पुर्छ कि भन्ने डर लागेको बताए ।

उनले भने, “यहाँका अधिकांश महिला वर्षाको समय बढी बिरामी हुने गर्दछन् । नजिकै स्वास्थ्य चौकी छ तर उपचार गर्न जाउँ भने पहिरोकै डर लाग्छ ।” स्वास्थ्य चौकी प्रमुख रावतले वर्र्षाको समयमा रुघाखोकीका बिरामीहरू धेरै आउने गरेको बताए । खप्तड छेडेदह गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर रावतले डोगडी स्वास्थ्य चौकीले पालिकाभरीका स्थानीयलाई स्वास्थ्य सेवा दिँदै आएको बताए। स्वास्थ्य चौकीमा पहिरोको जोखिम बढेपछि पहिरोकै डरले धेरै बिरामी नआउने संयोजक रावतले बताए।उनले भने, “पालिकाभरिको एक मात्र यो स्वास्थ्य चौकी भएकाले यसको चाँडै व्यवस्थापनका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारलाई जानकारी गराएका छौँ ।

”सुत्केरी, महिला, बालबालिका तथा अन्य बिरामीका लागि निकै सहज भएको यो स्वास्थ्य चौकी अहिले पहिरोको जोखिममा रहेकाले स्थानीयलाई स्वास्थ्य सेवा दिन निक्कै समस्या भएको संयोजक रावतले बताए ।स्वास्थ्य चौकी नजिक रहेकाले छिमेकी जिल्ला बझाङको खप्तड छान्ना गाउँपालिका छान्ना, गोरखाली लगायतका ठाउँबाट पनि धेरै बिरामी आउने गरेको बताइन्छ । २० शय्याको स्वास्थ्य चौकीमा एचए, दुई अनमी, दुई ल्याब, दुई कार्यालय सहयोगी, स्विपर एक गरेर आठ जना कर्मचारी कार्यरत छन् । खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले, अहिले गाउँ सभा सञ्चालन भइरहेकाले यो सभाबाट नै त्यो स्वास्थ्य चौकीलाई कता लैजाने, के गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको बताए । “गाउँपालिकाले मात्र यस्तो स्वास्थ्य चौकीको निर्माण गर्न सम्भव नभएकाले यसका लागि विभिन्न निकायमा पहल गरिरहेका छौँ, उनले भने ।”