सुदूरपश्चिममा आफ्नै मन्त्रीले योजना गायब गरेको सांसदको गुनासो 
2022/07/13, 7:55
 
dd

नेकपा एकीकृत समाजवादीकी सांसद सुशीला बुढाथोकीले आफ्नै मन्त्रीहरूप्रति गुनासो पोखेकी छन्। बुधबार प्रदेशसभामा बजेटमाथिको छलफलमा धारणा राख्दै उनले आफ्नै मन्त्रीले पनि योजना नदिएको भन्दै गुनासो पोखेकी हुन्। असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमा आजबाट छलफल सुरु भएको छ।

बुढाथोकीले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मनबहादुर धामीप्रति असन्तुष्ट रहेको जनाएकी छन्। ‘पर्यटनमन्त्रीलाई धन्यवाद छ। पोहोर साल पनि लिष्ट गायब गरिदिनुभयो। अहिले पनि गायब गर्नुभएको छ। मेरो वडामा मैले भनेको योजना परेन। अरू कसैले भनेको आयोजना परेको छ।’ बुढाथोकीले भनिन्।

यस्तै उनले आफ्नो क्षेत्रमा १० करोड बजेट पनि नपुगेको दाबी गरेकी छन्। ‘कसैको वडामा १५ करोड पुग्छ। दुई मन्त्री हुँदा पनि आवश्यक बजेट भएन’, उनले भनिन्, ‘भौतिक पूर्वाधारले काट्दिनुभयो। अर्थमन्त्रीले आफ्नै क्षेत्रमा २ अर्ब लानुभयो। ४० मन्दिर बनाउनुभयो। हाम्रो एउटा मन्दिर पनि आवश्यक ठान्नुभएन।’ भौतिक विकास र आर्थिक मामिला दुबै नेकपा एसका मन्त्री हुन्। उनले बजेटको सन्तुलन नमिलेको भन्दै त्यसको सम्पूर्ण दोष मुख्यमन्त्री त्रिलोचन भट्टले लिनुपर्ने बताइन्।

‘सरकार प्रमुखलाई दोष जान्छ। सबै मन्त्रालयमा ध्यान दिनुपर्ने हो। बजेट बिग्रेको अनुभूति हामीले गरेका छौं’, उनले भनिन्, ‘सबै मन्त्रीको जिल्लामा बजेटको खात छ। माननीयको जिल्लामा अवस्था चिन्ताजनक छ।’