बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध
2022/07/14, 12:07
 
ss

लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरा गएपछि सडक अवरुद्ध बनेको हो ।

अम्कोटको पहिरोले थप समस्या भएको छ । तलबाट सडक भासिएको  छ भने माथिबाट ढुङ्गा खस्न थालेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए । राजमार्गको बार्जुगाड, अम्कोट, तिपाडा, पानी नाउला, ओलेनालगायत ठाउँमा वर्षाका कारण पहिरो आउने क्रम जारी छ ।

पहिरो पन्छ्याउनका लागि नेपाल प्रहरीको टोली खटाएको प्रहरी नायब उपरीक्षक थापाले बताए । हरेक वर्ष वर्षाका कारण सडक अवरुद्ध हुँदा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ । वैकल्पिक सडक नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि हुँदै गएको छ ।