धनगढीमा ५ महिनादेखि थन्कियो पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स,पालिकालाई छैन् चाँसो
2022/07/19, 11:59
 
apsari

बैतडीको पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स ५ महिनादेखि धनगढीमा थन्किएको छ । गाउँपालिकाको एम्बुलेन्स धनगढीमा थन्किएको ५ महिना बढी भइसक्दा समेत पालिकाले चासो दिएको छैन्। एम्बुलेन्स नहुँदा बिरामीले सास्ती भोग्दा समेत एम्बुलेन्स ल्याउने बिषयमा पालिकाले चासो नदिएको स्थानियले गुनासो गरेका छन्।

सो एम्बुलेन्सले ५ महिना अगाडि धनगढीमा मोटरसाइकललाई ठक्कर दिएपछि एम्बुलेन्स प्रहरीको नियन्त्रणमा छ। सुदूरपश्चिम प्रदेश सरकारले गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स ५ महिनादेखि थन्किएको भएपनि त्यसलाई प्रयोगमा ल्याउने बिषयमा प्रयास नै गरिएको छैन् । गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीहरुले भने सास्ती भोग्नुपरीरहेको छ ।

 आकस्मिक बिरामीहरुलाई अन्यत्र लैजान समस्या भएको स्थानीय जयबहादुर चन्दले बताए । पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स चालकसंग हलुका सवारी साधनको मात्रै लाइसेन्स भएको र एम्बुलेन्स हेबी भएकाले हेबी सवारी साधनको लाइसेन्स भएको चालक राख्न पनि प्रहरीले भनेको छ।

यता गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहले ५ महिनादेखि एम्बुलेन्स धनगढीमा थन्किएको स्वीकारे । एम्बुलेन्सले ठक्कर दिएको मोटरसाइकलको पाटपूर्जा मगाएर मर्मत गर्नुपर्ने भएकाले ढिलाइ भएको छ उनले भने। ‘यो बिषयमा स्वास्थ्य शाखासंग खासै समन्वय भएको छैन्, तर मोटरसाइकल मर्मत नहुँदा एम्बुलेन्स रोकिएको मलाई जानकारी छ उनले भने। पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स ५ महिनादेखि धनगढीमा रहेको जानकारी जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई समेत रहेको छ ।

एम्बुलेन्स जस्तो संवेदनशील साधन ५ महिना थन्किदा समेत चासो नदिएको भन्दै जनप्रतिनिधिहरुको आलोचना भएको छ। अत्यावश्यक साधनको रुपमा रहेको एम्बुलेन्स सञ्चालन र व्यवस्थापनमा पालिकाले ध्यान नदिएको भन्दै आलोचना भएको हो। स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले थन्किएको एम्बुलेन्स ल्याउनका लागि आग्रह गरिएको भनेका छन्।