बझाङको जयपृथ्वी नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा निकासीमा प्रतिबन्ध लगाएको छ। नदीजन्य पदार्थ विनामापदण्ड उत्खनन गर्ने र चोरी निकासी हुने गरेका कारण नगरपालिकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि नदीजन्य पदार्थ उत्खनन तथा निकासीमा रोक लगाएको हो।
सोमबार नगरपालिकाले एक सूचना जारी गर्दै नदीजन्य पदार्थ उत्खननमा रोक लगाउँदै सूचनाको अवज्ञा गरेमा कानुनअनुसार कारबाही हुने जनाएको छ। व्यवसायीले विशेषगरी सेती नदी र बाहुली खोलाबाट नदी तथा वातावरणको स्वरुप नै बिग्रने गरी बालुवा ढुंगा संकलन गर्ने गरेको पाइएका कारण रोक लगाइएको जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले बताए।
साउन १ गतेदेखि लागू हुने गरी असोज मसान्तसम्मका लागि नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मर जोशीले बताए। जयपृथ्वी नगरपालिका क्षेत्रभित्र पर्ने नदी किनारबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको उत्खनन तथा निकासीका लागी उचित मापदण्ड र निर्देशिका बनाएर मात्रै पुनः खोलिन नगरपालिकाले जनाएको छ ।