कैलालीमा पहिरोले ३५६ परिवारको थातथलो तहसनहस, त्रिपालमुनि बास
2022/07/27, 2:32
 
ss

कैलालीको चुरे गाउँपालिकामा पहिरोले ३५६ परिवारको उठिवास भएको छ। पहिरोका कारण विस्थापित भएका उनीहरु करिव एक वर्षदेखि चुरे गाउँपालिकाको वडा नम्बर ४ स्थित राष्ट्रिय वन क्षेत्रमा अस्थायी टहरो बनाएर त्रिपालमुनि बस्दै आएका छन्।

गत वर्षको साउनमा आएको पहिरोले दुई सय बढी र त्यसपछि बार्तिकको बेमौसमी वर्षाका कारण पहिरो खस्न थालेपछि थप परिवारहरु विस्थापित भएका थिए। पनेरु गडा र ताग गडामा बसिरहेका पहिरो प्रभावितहरु अहिले वर्षायाममा कष्टकर समय बिताउन बाध्य भएका हुन्। 

यता चुरे गाउँपालिकाको कार्यालयले भने प्रभावितहरु पुरानै स्थानमा फर्कन सक्ने सम्भावना नरहेको जनाएको छ। उनीहरुको पुरानो थातथलोलाई पहिरोले तहसनहस पारिसकेको छ। कतिपय गाउँको जमिननै भासिएको बताइएको छ। विस्थापित परिवारले आफूहरुको सुरक्षित स्थानमा पुनस्र्थापना गरिनु पर्ने माग गर्दै आएका छन्। पहिरोले जग्गाजमिन नै तहसनहस पारिसकेकाले पहिलेको ठाउँमा फर्कन नसकिने वडा नम्बर ६ का पहिरो पीडित पूर्णबहादुर कार्कीले बताए। 

विस्थापित परिवार धेरै रहेकाले उनीहरुको व्यवस्थापन गर्न नसक्ने गाउँपालिकाको कार्यालयले जनाएको छ। वडा नम्बर १, २, ४, ५ र ६ का करिब तीन हजारको हाराहारीमा मान्छे विस्थापित भएको जनाइएको छ। उनीहरुको व्यवस्थापनका लागि गाउँपालिकाले सङ्घ र प्रदेश सरकारलाई गुहारेको छ।