नयाँ घरले लोपोन्मुख राजी समुदायमा खुशीयाली
2022/07/27, 2:43
 
ss

भजनी नगरपालिका–९ भुरुवाकी मीना राजी डेढ वर्षदेखि कष्टकर जीवन बिताउँदै आएकी थिइन । कच्ची घर भत्काएकी उनको पक्की घर बेलैमा बनेन । जसले गर्दा बसोबास नै कष्टकर बन्यो । केही समय ढिलो भए पनि अहिले नयाँ पक्की घर पाएपछि भने मीनाको खुशीको सीमा नै छैन । 

‘नयाँ घर पाउँदा धेरै खुशी भएकी छु’, हर्षित मुद्रामा उनले सुनाइन्,‘प्रतिक्षाको फल मिठो हुन्छ भन्थे, हो रहेछ ।’ पक्की घर बनाउकै लागि २०७७ माघमा परम्परागत कच्ची घर भत्काएको उनको परिवार सानो झुप्रो बनाएर बस्दै आएको थियो । अब मीना परिवारसहित नयाँ घरमा सरेकी छन् । 

सुदूरपश्चिम प्रदेश सरकारले सुरक्षित आवास निर्माण गरेर हस्तान्तरण गरेपछि कैलालीको भजनी नगरपालिकास्थित भुरुवाको २५ परिवारमा मीनाको जस्तै खुशीयाली छाएको छ । मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत लोपोन्मुख राजी परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको हो । निर्माण भएको सुरक्षित आवास प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले सम्बन्धितलाई हस्तान्तरण गरिन् । 

मनसुनको बेला सुरक्षित आवास पाएपछि सीमान्तकृत राजी समुदायमा उल्लास छाएको छ । वर्षौदेखि झुप्रोमा बस्दै आएका आफूहरुलाई नयाँ घर खुशीको उपहार भएको डम्मर राजीले बताए । ‘वर्षौदेखि झुप्रोमा बस्न बाध्य थियौं’, उनले भने,‘बर्खामा नयाँ घर पाएपछि खुशीयाली छाएको छ ।’ 

प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत कार्यक्रम अनुसार भुरुवाका लोपोन्मुख राजी समुदायको २५ परिवारका लागि सुरक्षित आवास निर्माण कार्य अगाडि बढाइएको थियो । सोही आर्थिक वर्षमा ठेक्का भएपछि पुस २९ गते मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमकाबीच सुरक्षित आवास निर्माणको शिलान्यास गरेका थिए । तत्कालीन समयमा छ महिनाभित्रै २५ घर निर्माण गर्ने गरी ठेक्का भएपनि ठेक्का पाएको बी एण्ड सी बिल्डर्सले तदारुकताका साथ काम नगर्दा निर्माण कार्यमा ढिलाइ भइ बल्ल घर हस्तान्तरण गरिएको छ । निर्माणमा ढिलो भए पनि अहिले नयाँ घर पाएका विपन्न परिवार खुशीले गद्गद् छन् ।  

भूमि, व्यस्था, कृषि तथा सहकारी मन्त्रायलयमार्फत निर्माण भएको घर हस्तान्तरण गर्दैै मन्त्री विनिता चौधरीले अति विपन्न, प्रकोपबाट घरमा क्षति भएका परिवारलाई प्राथमिकतामा राखेर उनीहरुको लागि घर निर्माण गरिएको बताइन् । ‘सबैले बस्ने घर पाउनु पर्दछ । त्यसैले अति विपन्न राजी परिवारका लागि सुरक्षित आवासको बन्दोबस्त प्रदेश सरकारले गरेको हो’, उनले भनिन् । लोपोन्मुख, सीमान्तकृत समुदाय र अति विपन्न परिकारलाई सुरक्षित आवासको व्यवस्था गर्नकै लागि प्रदेश सरकारले मुख्यमन्त्री एकीकृत नमूना बस्ती विकासको कार्यक्रमको अवधारणा ल्याएको मन्त्री चौधरीको भनाइ थियो । 

कैलालीसहित केही जिल्लामामात्रै बसोबास रहेको लोपोन्मुख राजी समुदाय जङ्गल र जलमा आश्रित छन् । वनमा डुल्दै मह काढ्ने, नदीनालामा माछा मार्ने कार्य गरेर यो समुदायका व्यक्तिले जीवन निर्वाह गर्दै आएका छन् । पछिल्लो समय कतिपय परिवारले खेतीपाती पनि अङ्गालेका छन् । गुजाराका लागि वनजङ्गल र जलमा निर्भर यो समुदायको सुरक्षित आवास निर्माणका लागि भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण कम्पनीसंग एक करोड एक लाख २९ हजार रुपैयाँ ठेक्का सम्झौता गरेको थियो । 

सम्झौतानुसार, निर्माण कम्पनीले दुई कोठे पक्की घरमा जस्ताको छाना राख्नु पर्ने, प्लाष्टरसहित घरको रङ्रोगन गर्नु पर्ने र चर्पी बनाउनु पर्ने थियो । लोपोन्मुख राजी समुदायको लागि सुरक्षित आवास निर्माणमा ह्याविट्याट फर ह्युमानिटी, नेपालले प्राविधिक तथा सामाजिक परिचालन सहयोग गरेको थियो । 

आवास हस्तान्तरण समारोहमा मन्त्री चौधरीले नमूना बस्तीसंगै राजी समुदायमा स्थानीयको माग अनुसार रोजगारीको अवसर सृजना गर्न प्रदेश सरकार तयार रहेको बताइन् । समुदायको मागका आधारमा उद्योग पनि सञ्चालन गर्न सकिने उनको भनाइ थियो ।  कैलालीको भजनी, टीकापुर, लम्कीचुहा लगायतका पालिकामा लोपोन्मुख राजी समुदायको बसोबास छ । भजनीको भुरुवामा पनि धेरै परिवारको बसोबास रहेको छ ।