कैलालीका एक व्यक्ति ३० औं पटकमा एसईई पास भएका छन् । कैलारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कार्यालय सहयोगीमा कार्यरत ५३ वर्षीय भागीराम चौधरी सोही विद्यालयबाट यसवर्ष एसईई पास भएका हुन ।
उनले २.५ जीपीए ल्याएर एसईई पास गरेको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिए । ‘अथक मिहिनेत र धैर्यता गरेमा सफल भइन्छ भन्ने उहाँ एक उदाहरण बन्नु भएको छ’, शिक्षक शर्माले भने । ‘चौधरीले अब क्याम्पस पढ्न पाउनु हुनेछ ।’
कैलारी गाउँपालिका–६ बनकट्टाका चौधरीले २०४८ सालमा पहिलो पटक दीपेन्द्र मावि हसुलियाबाट एसएलसी दिएका थिए । अघिल्लो दुई वर्ष कोरोना महामारीको क्रममा भने उनले एसईईका लागि फर्म भरेनन् । ‘यो वर्ष पनि परीक्षा दिने खासै मन थिएन, स्वास्थ्यले पनि साथ दिएको थिएन’, उनले भने । ‘तर, पछि फेरि मन लाग्यो । दिएँ, पास भएको छु ।’ अब जनता माविमै कक्षा ११, १२ पढ्ने चौधरीले बताएका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार उनी २.५ जिपिए ल्याइ पास भएका हुन्। एसईईमा उत्तीर्ण भएपछि उनले आफू अध्ययनरत तथा कार्यरतसमेत रहेको विद्यालयमा मिठाई बाँडेर खुसी साटेका छन्। उनी कैलारी गाउँपालिका-९ गदरियास्थित जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी हुन्। उनी सोही विद्यालयमा अध्ययनरत छन्।
२०४८ देखि एसएलसी परीक्षा दिदै आएका उनी कोरोना महामारीको अवधिमा भने परीक्षामा सहभागी भएनन्। शिक्षा प्राप्तिको निकै लामो संघर्ष र दृढ आत्मविश्वासपछि एसईई उत्तीर्ण भएका उनले आफू कार्यरत रहेको विद्यालयमै कक्षा ११ भर्ना हुने योजना रहेको बताए। शिक्षाप्रति उनमा भएको लगाव नै सबैको लागि उत्प्रेरणाको स्रोत बनेको उनका सहकर्मी बताउँछन्।
यस्तै जनता माध्यमिक विद्यालयमा कार्यरत शिक्षक डिल्लीराम मिश्रले पनि जीवनमा हरेश नखाइ निरन्तर मेहनत गरे सफलता निश्चित रहेको भन्ने उदाहरण भागीराम बन्न सफल भएकोमा हर्ष व्यक्त गरे। ३ सन्तानका पिता रहेका उनका जेठा छोरा स्नाकोत्तर अध्ययनरत छन्, भने अर्को छोरा र छोरी स्नातकमा अध्ययनरत छन्।