५० मिटर पुल ८ वर्षमा पनि पूरा भएन !
2022/07/30, 6:13
 
dd

बैतडी जिल्लाको सुर्नया नदीमा निर्माण शुरु भएको ८ वर्षसम्म ५० मिटर पुल पनि बन्न सकेन।  ५० मिटरको उक्त पुल २ वर्षमा पूरा गर्ने सम्झौता थियो। त्यहाँका स्थानीय बासिन्दा २ वर्षपछि आफ्ना दुःख कम हुने सोचेर दङ्ग परेका थिए। त्यो दिन अझै आएन।

बैतडीको पाटन–सकार कैलपाल जोड्ने मोटरेबल निर्माण अलपत्र हुँदा यहाँका बासिन्दा समस्या भोग्न बाध्य छन्।  २०७१ साल भदौमा मोटरेबल पुल निर्माण कार्य एसके निर्माण सेवाले शुरु गरे पनि अहिलेसम्म पूरा हुन सकेको छैन।  २ वर्षमा पुल सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको थियो। पुल निर्माण शुरु भएको ८ वर्ष बितिसक्दा समेत पुल निर्माण कार्य सम्पन्न नभएको हो। तीन वर्षभित्र पुल निर्माण गरिसक्ने लक्ष्य सहित मोटरेबल पुल निर्माण कार्य शुरु भएपनि अहिलेसम्म पुल निर्माण नहुँदा स्थानीय बासिन्दा मारमा परेका छन्।

लामो समयसम्म पुल निर्माण नहुँदा डैसिली, लदौली, सकार, बाडुलासौँ, पोखरी, गनडा, किम्तोली, उल्लका बासिन्दा आक्रोशित बनेका छन्। ठेकेदारको लापरबाहीले समयमै पुल निर्माण हुन नसकेको स्थानीयको आरोप छ।  बर्खा लागेसँगै सुर्नया नदीमा पानीको बहाव बढेपछि उक्त सडक अवरुद्ध समेत बनेको हो। नदीमा पानीको बहाव बढेपछि सकार कैलपालबाट पाटन जोड्ने एक मात्र सडक अवरुद्ध बनेपछि आवतजावतमा समस्या हुने गरेको स्थानीय लक्ष्मण विश्वकर्माले बताए।

सुर्नया नदीमा मोटरेबल पुल नबन्दा हरेक वर्ष वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ। उनले भने, ‘पुल नहुँदा वर्षातको समयमा पाटन नगरपालिका तथा स्थानीय बजारमा आवतजावत गर्न र खाद्यान्नका सामान ढुवानीका लागि निकै समस्या हुने गरेको छ।’  यता पुल निर्माणको जिम्मा पाएको एसके निर्माण सेवाले भने सम्झौता भएको ४२ महिनासम्म पुल निर्माणस्थल पुग्ने बाटो निर्माणमा स्थानीयले विवाद गर्दा काम गर्न नपाएको बताएको छ।

संघीयता आएपछि प्रदेश सरकारले बनाउने कि संघीय सरकारले बनाउने भन्ने विषयमा अन्योल हुँदा पुल निर्माणमा ढिलाइ भएको एसके निर्माण सेवाका सञ्चालक मदनमोहन विष्टले बताए।

२ करोड ९० लाखको लागतमा निर्माण भइरहेको पुलको ७० प्रतिशत काम सम्पन्न भएको विष्टले बताए।  पछिल्लो समयमा २०८० असार मसान्तसम्म ठेक्का म्याद थपिए पनि २०७९ को माघ महिनासम्म पुल निर्माण गरिसक्ने निर्माण कम्पनीको दाबी रहेको छ।