सुदूरपश्चिमका मुख्य सरकारी कार्यालय रहेको सडक हिलाम्मे बन्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । धनगढी उपमहानगरपालिका १ मालपोत रोडमै मन्त्रालय, स्वास्थ्य संस्था, थुर्पै कार्यालय तथा सङ्घसंस्था रहेका छन् । तर यो सडक अझै पनि बन्न नसकेपछि यहाँ सेवा लिन आउने सर्वसाधारणले सास्ती खेप्नुपरेको हो ।
सामाजिक विकास मन्त्रालय र मालपोत कार्यालय जाने सडकको अवस्था बिजोग हुँदा सर्वसाधारणलाई कार्यालय पुन हम्मे हम्मे हुने गरेको छ । बर्खाको समयमा पानी जमेर तथा खाल्डाखुल्डीकाले सवारी दुर्घटनाको समेत जोखीम बढेको छ । लामो समय सम्म सो सडक नबन्दा हैरानी खेप्नुपरेको त्यस क्षेत्रका व्यापारीहरूले समेत बताएका छन् ।
धनगढी मालपोत रोडको १० मिटर लामो बाटो क्षेत्रीय सहरी विकास आयोजना धनगढीले बनाइरहेको छ । यता क्षेत्रीय सहरी विकास आयोजना धनगढीका सूचना अधिकारी द्रोण कटवालले बर्खा लागेका कारण केही ढिलाइ भएको र दसैँ अघि काम सक्ने योजना रहेको बताए ।
सडकमा केही रुखहरू र पर्खालहरू हटाउन लाग्दा पनि काममा ढिलाइ भएको उनको भनाई छ । सडकको दुवै तर्फ नाली निर्माण र केही स्थानमा ग्राबील फाली सकेको हुँदा पनि काम छिट्टै सम्पन्न हुने उनले बताए । मालपोत रोडमा सामाजिक विकास मन्त्रालय, कैलाली उद्योग वाणिज्य सङ्घ, वडा प्रहरी कार्यालय कैलाली, मालपोत कार्यालय कैलाली, सेती प्रादेशिक अस्पतालको शव गृह, कोरोना अस्थायी अस्पताल लगायत धेरै कार्यालय एउटै सडकमा छन् ।