कोरोना संक्रमण बढ्न थालेपछि गौरीफन्टा नाकाको अनुगमन
2022/08/04, 11:21
 
ss

भारतसँग सीमाना जोडिएको गौरीफन्टा नाकाको अनुगमन गरिएको छ। भारतबाट फर्किएकाहरुमा कोरोनाको सङ्क्रमण दर बढेकाले नाकामा परीक्षण र खोपको व्यवस्थापनका लागि स्थलगत अनुगमन गरिएको हो।  

अनुगमनमा गएको समूहले कोरोनाको सङ्क्रमणदर, परीक्षणको अवस्था, सीमा क्षेत्रमा रहेका स्वास्थ्यकर्मीको जनशक्ति, स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सुरक्षा लगायतको निरीक्षण गरेको छ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, सुदूरपश्चिमका डीआईजी मोहनकुमार आचार्यसहितको स्वास्थ्यकर्मीहरुको समूहले सीमा नाकाको अनुगमन गरेको हो।

उनीहरुले संक्रमितहरुलाई गरिएको व्यवस्थापनमा पनि चासो दिएका छन्। सुदूरपश्चिमका सामाजिक विकास मन्त्री बोहराले सीमा क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि त्रिपालको राम्रो व्यवस्था नभएको बताए। कोरोनाको सङ्क्रमण दर बढेकाले सीमा क्षेत्रका स्वास्थ्यकर्मीका लागि प्रोत्साहनका लागि भत्ता तथा पुरस्कारको व्यवस्था गरिने उनले बताए।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख हमालले सीमा क्षेत्रको व्यवस्थापनका लागि प्रदेश सरकार, कञ्चनपुरको पुनर्वास नगरपालिकासँग समन्वय गर्ने बताए। उनले संक्रमणको दर फेरि बढेकाले सीमा क्षेत्रबाट व्यवस्थापन अति आवश्यक रहेको बताए।  

गौरीफन्टा सीमा क्षेत्रमा प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य कार्यालय, धनगढी उपमहानगरपालिका, पुनर्वास नगरपालिका तथा विभिन्न संघ संस्थाबाट खटाइएका स्वास्थ्यकर्मीहरु छन्। उनीहरुले कोरोना परीक्षण एवम् कोरोनाविरुद्धको खोप लगाइरहेका छन्।