सडकमा खाल्टाखुल्टी परेपछि हिडडुल गर्न सास्ती
2022/08/04, 6:11
 
dd

धनगढी उपमहानगरपालिकाको केही सडक भत्किनुका साथै त्यसमा ठूलठूला खाल्टाखुल्टी परेपछि हिडडुलमा सास्ती भएको छ । 
वर्षासंगै सडकका अवस्था बिग्रपछि हिडडुल गर्न समस्या भएको हो । वडा नम्बर १ मा पर्ने मिलनपुर मुक्त कमैया शिविर सडकमा खाल्टाखुल्टी परेपछि हिडडुलमा सास्ती भएको छ । सो सडकमा विभिन्न विद्यालय, कलेज पढ्न जाने विद्यार्थी बढी हिडडुल गर्ने गरेका छन् । 

सडक बिग्रिएपछि विद्यार्थीसहित हिडडुल गर्ने सबैलाई समस्या भएको तोयाराज भट्टले बताए । उनले ठूलठूला खाल्टाखुल्टीका कारण बाटोमा दुर्घटनाको जोखिम रहेको उल्लेख गरे ।   ‘विद्यार्थी बोकेका धेरै सवारी साधन यो बाटोमा गुड्ने गर्छन्’, भट्टले भने,‘यस्तो बाटोले दुर्घटना निम्त्याउन सक्छ ।’ 

No description available.
सो बाटोमा हेभी गाडीसमेत कुदाइएपछि किनार–किनारमा सडक नै भासिएको छ । मिलनपुर मुक्त कमैया बस्तीदेखि पश्चिम नैनादेवी–एक्सिसमार्ग रोडसम्म ठूला खाडल परेका छन् । 

यसैगरी, नैनादेवी–एक्सिस मार्गको सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वार्टर कार्यालय र प्रदेश निर्वाचन कार्यालय अगाडि पनि बाटो खराब भएको छ । सो बाटो खराब भएपछि हिडडुल गर्न समस्या भइरहेको छ । 

No description available.
बाटोको अवस्था बिग्रिसकेकाले मर्मतमा स्थानीय सरकारको ध्यान जानु पर्ने भट्टले उल्लेख गरे । ‘ग्राभेल हालेर खाल्डा पुरि दिएमा दुर्घटनाको जोखिम हुँदैन’, उनले भने,‘ग्राभेल धेरै आवश्यक नपर्ने भए पनि स्थानीय सरकारको यसमा ध्यान गएको देखिदैन ।’ धनगढी उपमहानगरपालिकाका मेयरले धेरै कार्यमा फटाफट ‘एक्सन’ लिइरहेको देखिने गरेको उल्लेख गर्दै उनले बाटोको अवस्था सुधारका लागि मेयरले ध्यान दिने विश्वास व्यक्त गरे ।  

धनगढी उपमहानगरपालिकासंग ग्राभेल ‘स्टक’ नरहेकाले तत्काल खाल्टाखुल्टी पुर्न सम्भव नरहेको जनाइएको छ । अहिले खोला नालाबाट ढुङ्गा, गिट्टी पनि उठाउन बन्द गरिएको छ । खोलानाला बन्द भएको बेला ढुङ्गा गिट्टी स्टक राखेका व्यक्तिले महँगोमा बिक्री गरिरहेका छन् । उपमहानगरपालिकाको कार्यालयसंग गिट्टी स्टक नरहेकाले तत्काल बाटो मर्मत गर्न नसकिने वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले बताए ।

‘खोलानाला बन्द भएको बेला अन्यत्रबाट महँगोमा किनेर गिट्टी हाल्न सकिदैन’, उनले भने ।  केही समय अगाडि ती बाटोहरुको खाल्टाखुल्टीमा ढुङ्गा, गिट्टी हालिएको वडा अध्यक्ष मुडभरीको भनाइ थियो । वर्षा यामका लागि धनगढी उपमहानगरपालिकाले गिट्टी स्टक नराख्दा अहिले समस्या भइरहेको उनको भनाइ थियो । 

झरी सुरु भएपछि उपमहानगर क्षेत्रका विभिन्न सडकको अवस्था बिग्रिएको छ । कतिपय सडक हिलाम्य बनेका छन् । निर्माण भइरहेको मालपोत सडक हिलाम्य भएका कारण आवजतावत गर्न समस्या भएको छ । 

No description available.