कैलालीमा निर्माणाधिन झोलुंगे पुल बग्यो 
2022/08/04, 6:41
 
dd

कैलालीको कैलारी गाउँपालिका–३ खोनपुर र शिवरत्नपुर जोड्न मोहना नदीमा तीन वर्षदेखि निर्माणाधिन झोलुंगे पुल बगेको छ ।
मोहना नदीमा आएको बाढीमा निर्माणाधिन अवस्थामा रहेको झोलुंगे पुल बगेको गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले बताए । 

‘झोलुंगे पुलका लागि चाहिने लट्ठा नभएर निर्माण पूरा हुन नसेकेको हो,’ उनले भने, ‘लट्ठा भएको भए यही वर्ष सञ्चालन हुन्थ्यो, तर मोहनाले आज बगाएर लग्यो ।’ वडा नम्बर ३ का स्थानीय सन्तराम चौधरी मोहनामा यो वर्ष ठूलो बाढी आएको बताए । उनले भने, ‘आज वारिको मान्छे पारि र पारिको मान्छे वारि जान नसक्ने गरी बाढी थियो । मोहनाले तीव्र कटानी गरेकोले झोलुंगे पुलको दक्षिणको पिल्लर लग्यो ।’ 

निर्माण सम्पन्न हुनेवाला रहेको तर लट्ठा नभएका कारण उक्त झोलुङे पुल सञ्चालनमा आउन नुकेको उनले बताए । शिवरत्नपुरका स्थानीय कमल चौधरी आफ्नोहरूको पुल चढ्ने सपना लडियाले बगाएको बताए । ‘झोलुंगे पुल निर्माणमा ढिलाइ हुँदै थियो । तीन वर्षदेखि बन्दै गरेको पुल नबनेर शिवरत्नपुरवासी ढुंगामा जोखिम मोलर नदी पार गर्थे,’ उनले भने,  ‘पुलको दक्षिण पिल्लर बगेको छ । अब पुल चढ्ने आश छैन ।’ उनले भने, ‘अहिलेसम्म ढुंगाको भरमा नदी वारिपारि गर्ने अवस्था छ, वर्षाका बेला बिरामीको स्वास्थ्य उपचार, सुत्केरी गर्भवतीलाई खोप लगाउने र विद्यार्थीलाई विद्यालय जाने आउने समस्या छ ।’ 

शिवरत्नपुर बस्तीको १६ घरलाई बचाउनका लागि बनाइएको २० लाखको भौतिक र जैविक तटबन्ध यही असार महिनामा बगाएको थियो ।तटबन्ध बगेसँगै मोहना नदी बस्तीमा गएपछि शिवरन्तपुरका १६ घर विस्थापित भई त्रिपालमुनि बस्ने अवस्था आएको उनले बताए । शिवरत्नपुरका स्थानीय सन्तराम चौधरी मोहना नदी दिनदिनै खेतीयोग्य जमिन कटान गर्दै गरेको बताए । उनले भने, ‘गत वर्ष असोज–कार्तिक महिनामा आएको बाढी बस्तीमा आयो । भएको धानवाली बगायो, खेतीयोग्य जमिनलाई बालुवा भरेर मरुभूमि बनायो, अब कटान गरेर लग्दै छ ।’ 

फियान नेपालका सुदूरपश्चिम प्रदेश संयोजक मुकुन्द राना खेतीयोग्य जमिन बगेपछि त्यो बस्तीमा खाद्यान्नका समस्या आउने सक्ने बताउँछन् ।