कैलालीमा बाघको छाला सहित चार जना पक्राउ
2022/08/05, 2:03
 
dd

कैलालीमा बाघको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका-२ मा सुदूरपश्चिम अनुसन्धान समूह आरआईटी र ईलाका प्रहरी कार्यालय मालखेतीबाट खटिएको टोलीले सयुक्त प्रहरी टोलीले सुपप्र ०४-००१ च ०००६ नम्बरको बोलेरो जीपमा डोटीबाट ल्याउदै गरेको अवस्थामा छालासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले डोटीको जोरायल गाउँपालिका-२ का जीप चालक समिर ओली, कैलालीको चुरे गाउँपालिका-६ बस्ने टेक बहादुर रावत, धिरेन्द्र रावत र बैतडीको डिलासैन गाउँपालिका-२ राजेन्द्र सिंह भण्डारीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरूले सेतो प्लाष्टिक कट्टामा बाघको छाला र हड्डीहरु बाँधेको अवस्थामा बरामद गरिएको छ । डीएसपी जोशीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा चालक ओलीले बुडरबाट बोलेरो जीप चलाएर फल्टुडेमा बाघको छाला र हड्डी हालेर बिक्री गर्ने उदेश्यले चारै जनाको सहमतिमा अत्तरियातर्फ आएको बुझिएको छ ।

बाघको छालाको लम्बाइ टाउको देखी पुच्छर सम्म ४ फिट ७ ईन्च, पुच्छरको लम्बाई ३ फिट २ ईन्च, चौडाई २ फिट २ ईन्च रहेको प्रहरीले जनाएको छ । हड्डीको तौल २ किलो छ । उनीहरूलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।